काठमाडौं । सुमन सायमीसहितका नेताहरू नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएका छन्।
सायमी आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार बन्ने तयारीमा छन्। निर्वाचनको केही समयअघि नै उनी नेकपामा समाहित हुन लागेका हुन्।
सायमीले आफू नेकपासँग एकता प्रक्रियामा रहेको जानकारी दिएका छन्। “भोलि एकता हुँदैछ,” सायमीले भने। एकता सभा भृकुटीमण्डपस्थित राष्ट्रियसभा गृहमा आयोजना गरिने जनाइएको छ।
२०७९ को स्थानीय तह निर्वाचनमा सायमी काठमाडौं महानगरपालिकाको मेयर पदका उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनले १३ हजार ७७० मत प्राप्त गरेका थिए। चुनावपछि उनी स्वतन्त्र अभियानमा सक्रिय रहँदै स्वतन्त्र तथा वैकल्पिक शक्तिलाई एकीकृत गर्ने प्रयासमा जुटेका थिए।
त्यसै वर्ष सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पनि उनले भाग लिएका थिए। तर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विराजभक्त श्रेष्ठसँग पराजित भएका थिए। उक्त निर्वाचनमा सायमीले ६ हजार १७९ मत पाएका थिए।
पछिल्लो समय सायमी राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालमा आबद्ध थिए। सो पार्टीमा उनी वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा थिए।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवारी दिने तयारीमा रहेका सायमी अब नेपाली कम्युनिस्ट पार्टीबाट अघि बढ्ने भएका हुन्।
५२ वर्षीय सायमी काठमाडौंको कालीमाटी निवासी हुन्। उनी काठमाडौंका रैथाने समुदायबीच परिचित र चर्चित व्यक्तित्वका रूपमा चिनिन्छन्।




