विश्व

तेल बोकेका भेनेजुएलाको दुई वटा ट्याङ्कर पानीजहाज अमेरिकाको नियन्त्रणमा,रुसको कडा आपत्ति

काठमाडौं । अमेरिकाले नर्थ एट्लान्टिक र क्यारेबियन क्षेत्रमा “एकपछि अर्को” कारबाही गर्दै भेनेजुएलाको तेल निर्यातसँग सम्बन्धित दुई वटा ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ।

पहिलो ट्याङ्कर रुसी झन्डावाहक मरिनेरा आइसल्यान्ड र स्कटल्यान्डको बीचमा पर्ने अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा करिब दुई साता पछ्याइएपछि अमेरिकी सैनिकहरूले त्यसमा प्रवेश गरेका थिए। उक्त कारबाहीमा बेलायतको रोयल नेभीले हवाई तथा समुद्री सहयोग गरेको जनाइएको छ।

दोस्रो ट्याङ्कर एम/टी सोफिया लाई अमेरिकाले “अवैध गतिविधि” मा संलग्न भएको आरोप लगाउँदै क्यारेबियन जलक्षेत्रमा नियन्त्रणमा लिएको हो।

अमेरिकाले भेनेजुएलाको कच्चा तेलको अधिकांश निर्यात रोक्ने प्रयास गरिरहेका बेला, भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोलाई कराकसस्थित निवासबाट सैन्य कारबाहीमार्फत नियन्त्रणमा लिएको केही दिनपछि यी कदम चालिएको हो।

अमेरिकी रक्षा मन्त्री पिट हेग्सेथले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “प्रतिबन्धित र अवैध भेनेजुएलाको तेलमाथिको प्रतिबन्ध संसारको कुनै पनि ठाउँमा पूर्ण रूपमा लागू हुन्छ।”

यस घटनाप्रति रुसले कडा प्रतिक्रिया जनाएको छ। मस्कोले आफ्नो झन्डामुनि यात्रा गरिरहेको ट्याङ्कर जफत गरिएको घटनाको निन्दा गर्दै जहाजमा रहेका रुसी नागरिकहरूमाथि उचित व्यवहार गर्न र उनीहरूलाई चाँडै स्वदेश फर्किन अनुमति दिन अमेरिकासँग माग गरेको छ।

रुसी यातायात मन्त्रालयले उक्त पानीजहाजलाई रुसी झन्डा प्रयोग गर्न “अस्थायी अनुमति” दिइएको जनाएको छ। साथै, अन्य देशको क्षेत्राधिकारअनुसार दर्ता गरिएका पानीजहाजविरुद्ध बल प्रयोग गर्ने अधिकार कुनै पनि राष्ट्रलाई नरहेको दाबी गरेको छ।

केही विवरणअनुसार रुसले ट्याङ्करको सुरक्षाका लागि पनडुब्बीसमेत पठाएको बताइएको छ। तर अमेरिकी सेनाले कुनै प्रतिरोधको सामना नगरी ट्याङ्करमा प्रवेश गरेको देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *