काठमाडौँ। नेपाली कांग्रेसका विशेष महाधिवेशन मागकर्ता प्रतिनिधिहरूले पार्टी विधानअनुसार विशेष केन्द्रीय महाधिवेशन आह्वान गरेको घोषणा गरेका छन् ।
विशेष महाधिवेशन पक्षधर नेताहरूले आज काठमाडौँमा पत्रकार सम्मेलन गरी यही पुस २७ र २८ गते विशेष केन्द्रीय महाधिवेशन आयोजना गर्ने निर्णय सार्वजनिक गरेका हुन् ।
वर्तमान विषम राजनीतिक परिस्थितिमा पार्टीलाई सुदृढ, गतिशील र जनभावनाअनुकूल बनाउँदै समसामयिक नीति निर्माणसहित कांग्रेसको पुनर्निर्माण गर्न विशेष महाधिवेशन अपरिहार्य रहेको उनीहरूको निष्कर्ष छ ।
नेताहरूका अनुसार पार्टी विधानको धारा १७ को उपधारा (२) बमोजिम कूल महाधिवेशन प्रतिनिधिमध्ये ५४.५८ प्रतिशत अर्थात् २,४८८ जनाले गत असोज २९ गते केन्द्रीय कार्यालयमा विशेष महाधिवेशन माग गर्दै लिखित निवेदन दर्ता गराएका थिए ।
विधानको धारा १७(१) अनुसार गत मङ्सिरभित्र १५औँ महाधिवेशन सम्पन्न हुनुपर्ने व्यवस्था रहे पनि तोकिएको समयमा महाधिवेशन हुन नसकेको उनीहरूको भनाइ छ । साथै, धारा १७(२) अनुसार केन्द्रीय महाधिवेशनका कम्तीमा ४० प्रतिशत प्रतिनिधिले लिखित अनुरोध गरेमा तीन महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने स्पष्ट व्यवस्था रहेको उनीहरूले स्मरण गराएका छन् ।
पत्रकार सम्मेलनमा केन्द्रीय सदस्यहरू अजयबाबु शिवाकोटी, प्रतिमा गौतम, प्रकाश स्नेही, देवराज चालिसे, जगदीशनरसिंह केसी, सुवास पोखरेल, मनोजमणि आचार्य, माधवप्रसाद चाम्लागाईलगायत नेताहरूले विधानले दिएको अधिकारलाई असान्दर्भिक ठहर गर्ने अधिकार कसैलाई नभएको स्पष्ट पारे ।
उनीहरूले विशेष केन्द्रीय महाधिवेशनमा सम्पूर्ण केन्द्रीय महाधिवेशन प्रतिनिधिहरूलाई सहभागिताका लागि आह्वानसमेत गरेका छन् ।




