प्रविधि

नेपाल टेलिकमको आम्दानी ३८ अर्ब १९ करोड, ६ अर्ब नाफा

प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश पारित

काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८१/८२ मा ३८ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दै ६ अर्ब रुपैयाँ नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले कर तथा शुल्कबापत १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारलाई राजस्व बुझाएको छ ।

काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा सम्पन्न कम्पनीको १८औँ वार्षिक साधारणसभामा उक्त विवरण सार्वजनिक गरिएको हो । साधारणसभाले मुनाफाबाट प्रतिशेयर ३० रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

साधारणसभामा करिब ९१.५६ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरूको उपस्थिति रहेको थियो । सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, २०८२ असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू सर्वसम्मतले अनुमोदन गरेको छ ।

सो अवसरमा सञ्चालक समितिका अध्यक्ष तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले शेयरधनीहरूलाई स्वागत गर्दै कम्पनीको १८औँ वार्षिक प्रतिवेदन प्रस्तुत गरिन् ।

प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष अर्यालले तीव्र प्रतिस्पर्धी वातावरणका बाबजुद मुनाफाभन्दा सेवाभावलाई प्राथमिकतामा राख्दै दुर्गम तथा अति विकट क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गरिएको बताइन् । डिजिटल नेपाल निर्माण, विद्युतीय सुशासन प्रवर्द्धन तथा अप्टिकल फाइबरमार्फत सूचना महामार्ग निर्माण गरी डिजिटल विभाजन कम गर्ने दिशामा कम्पनीका कार्यक्रम केन्द्रित रहेको उनको भनाइ थियो ।

भावी दिनमा मेगा परियोजना सञ्चालन गर्नुपर्ने र थप पुँजी आवश्यक पर्ने अवस्थामा बोनस सेयर वितरण गर्न सकिने प्रतिबद्धता व्यक्त गर्दै उनले भनिन्, “विविध आन्तरिक तथा बाह्य प्रतिकूलताबीच पनि कम्पनीले ३८ अर्ब १९ करोड आम्दानी गर्दै ६ अर्ब रुपैयाँ नाफा कमाएको छ । कुल आम्दानीमध्ये १८ अर्ब ४६ करोड रुपैयाँ नेपाल सरकारलाई राजस्वका रूपमा बुझाएर राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्‍याइएको छ ।”

उनले जोखिम न्यूनीकरणका लागि आय सुनिश्चितता परीक्षण, कार्यसम्पादन तथा प्राविधिक परीक्षणलाई निरन्तर प्राथमिकतामा राखिएको जानकारी दिइन् । साथै वातावरण संरक्षण, स्वास्थ्य, शिक्षा र खेलकुद क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग निरन्तर भइरहेको बताइन् ।

कार्यक्रममा अध्यक्ष अर्यालले फाइभजी सेवाप्रति सेवाग्राही र सरोकारवालाहरूको तीव्र आकांक्षा रहेको उल्लेख गर्दै राजधानीसहित ठूला सहरहरूबाट निकट भविष्यमा फाइभजी सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिइन् ।

देशको भौगोलिक जटिलता र पूर्वाधारको सीमित पहुँचका बीच पनि फोरजी एलटीई प्रविधिमा आधारित भीओएलटीई तथा एफटीटीएच सेवा विस्तार र स्तरोन्नति निरन्तर गरिएको उनले बताइन् ।

उनका अनुसार २०८२ असोज मसान्तसम्म सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीय तहमा फोरजी एलटीई सेवा विस्तार भइसकेको छ । त्यस्तै, ७७ वटै जिल्लामा उच्च गतिको एफटीटीएच सेवा पुगेको छ । समीक्षा अवधिमा टूजीतर्फ १४३ र फोरजीतर्फ १०९ बीटीएस टावर थपिएका छन् । हाल कम्पनीका ४,५४२ टूजी, २,९९४ थ्रीजी र ४,४३७ फोरजी टावर सञ्चालनमा छन् ।

अति विकट स्थानीय तहहरूमा उपयुक्त प्रविधिमार्फत सेवा विस्तार, देशव्यापी हाई–ब्यान्डविथ कनेक्टिभिटी र कन्टेन्टमा आधारित भ्यालु एडेड सर्भिस विस्तारलाई निरन्तरता दिइएको पनि उनले जानकारी गराइन् ।

ग्रामीण दूरसञ्चार विकास कोषको सहयोगमा कोशी, मधेश र बागमती प्रदेशका मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने मार्गहरूमा अप्टिकल फाइबर विस्तार गरिएको छ । आ.व. २०८१/८२ को अन्त्यसम्म ८,८३४ किलोमिटर अप्टिकल फाइबर नेटवर्क विस्तार भएको अध्यक्ष अर्यालले बताइन् ।

विश्वव्यापी रूपमा भ्वाइस सेवाको माग घट्दै जानु र ओटीटी सेवाबाट बढ्दो चुनौतीका बीच डाटा सेवाको गुणस्तर सुधार, लागत प्रभावी सेवा प्रवाह र बजार हिस्सा विस्तारमा विशेष ध्यान दिइने उनले उल्लेख गरिन् ।

अठारौँ साधारणसभाबाट पारित लाभांश रकम आजैदेखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरूलाई वितरण गरिने व्यवस्था मिलाइएको नेपाल टेलिकमले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *