काठमाडौं । नेपाल टेलिकमले Value Added Services (VAS) सेवा प्रदायकमार्फत प्रवाह भइरहेका आपत्तिजनक तथा स्वीकृत व्यवसायभन्दा फरक प्रकृतिका एसएमएस सन्देशप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । हाल केही VAS सेवा प्रदायकमार्फत जातीय, वर्गीय, धार्मिक, साम्प्रदायिक तथा राजनीतिक सद्भावमा खलल पुर्याउने प्रकृतिका सन्देश नेपाल टेलिकमका मोबाइल नम्बरहरूमा समेत प्रवाह भइरहेको भन्दै टेलिकमले त्यस्ता गतिविधि रोक्न कडा निर्देशन दिएको हो ।
नेपाल टेलिकमका अनुसार VAS सेवा प्रदायकहरूले सेवाग्राहीको आवश्यकता अनुरूप सन्देश प्रवाह गर्ने तथा आवश्यक नियन्त्रणको जिम्मेवारी लिने व्यवस्था छ । तर टेलिकमले कुनै पनि सेवाग्राहीको व्यक्तिगत मोबाइल नम्बर वा अन्य विवरण VAS सेवा प्रदायकलाई उपलब्ध नगराउने स्पष्ट गरेको छ ।
हाल आपत्तिजनक सन्देश प्रवाह भएको विषयमा सेवाग्राहीहरू तथा राज्यका जिम्मेवार निकायहरूबाट समेत गुनासो प्राप्त भएपछि सम्बन्धित VAS सेवा प्रदायकलाई सचेत गराइएको टेलिकमले जनाएको छ । आगामी दिनमा यस्ता सन्देश सर्वसाधारणको मोबाइल नम्बरमा प्रवाह हुन नदिन कडाइका साथ नियन्त्रण गर्न सबै VAS सेवा प्रदायकलाई निर्देशन दिइएको छ ।
नेपाल टेलिकमले चेतावनी दिँदै यस्तो कार्य पुनः दोहोरिएमा सम्झौताका प्रावधानअनुसार दुई पक्षबीचको सम्झौता नै रद्द गर्न सकिने स्पष्ट पारेको छ ।
टेलिकमका प्रवक्ता रबिन्द्र मानन्धरले सेवाग्राहीको मोबाइल नम्बर तथा अन्य विवरणको गोपनियताप्रति नेपाल टेलिकम सधैं संवेदनशील रहेको उल्लेख गर्दै आगामी दिनमा पनि गोपनियताको सम्मान गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन् ।




