काठमाडौँ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले अन्तराष्ट्रिय बक्सिङ प्रतियोगितामा सहभागी हुने नेपाली टिमलाई बिदाई गरेका छन् ।
जनवरी २० देखी ३० सम्म उजेकिस्तानको तास्कन्दमा आयोजना हुन गईरहेको एएसबिसी यू-२२ म्यान एण्ड वुमन बक्सिङ च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने नेपाली खेलाडी तथा प्रशिक्षकलाई खेलकुद मन्त्री गहतराजले बिदाई गरेका हुन् ।
प्रतियोगिताका लागि नेपालको प्रतिनिधित्व गर्दै उजेकिस्तान जान लागेकी एक मात्र खेलाडी सुष्मा तामाङलाई बिदाई गर्दै मन्त्री अथकले जितको अग्रिम शुभकामना दिए ।
बक्सिङको विश्व वरियतामा जुनियर तर्फ छैठौं नम्बरमा पर्न सफल तामाङबाट नेपाली खेलक्षेत्रले ठुलो आशा गरेको बताउँदै मन्त्री गहतराजले भने- ‘पदक लिएर फर्कनुहोस, अग्रिम शुभकामना ।’
बक्सिङका अन्तराष्ट्रिय अध्यक्षले समेत नेपालको औपचारीक भ्रमण गरिसकेको तर्फ ईगिंत गर्दै उनले भने- ‘बक्सिङको अन्तराष्ट्रिय अध्यक्ष नेपाल आउनुले पनि नेपाली बक्सिङको अबस्था विश्वमा राम्रो रहेको प्रमाणित गरेको छ ।’
एसियाका ३० देश सहभागी हुने यू-२२ बक्सिङ प्रतियोगिताकालागि नेपाली खेलाडी तामाङसँगै बक्सिङका मुख्य प्रशिक्षक प्रकाश थापा मगर र प्रशिक्षक नबिन तण्डुकारको टिम उजेकीस्तान जान लागेको हो । तामाङले ४८ किलो तौल समुहमा प्रतिस्पर्धा गर्ने तालिका रहेको मुख्य प्रशिक्षक मगरले जानकारी दिए । नेपाली टिम टर्किस एयरबाट मंगलबार राती ११ बजे उजेकिस्तान जाने कार्यक्रम रहेको छ ।
बिदाई कार्यक्रममा नेपाल बक्सिङ संघका अध्यक्ष लगायतका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।




