खेलकुद

रोनाल्डो र माने चम्किँदा अल नासरको सहज जित

भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डो र साडियो माने चम्केको खेलमा अल नासरले साउदी प्रो लिगमा सहज जित निकालेको छ । शुक्रबार राति भएको खेलमा अल नाज्मालाई ५-२ गोलले पराजित गर्दै अल नासरले शीर्ष स्थानमा आफ्नो अंकदुरी बढाएको थियो ।

घरेलु मैदान अल अवाल पार्कमा भएको खेलमा अल नासरलाई जित दिलाउन रोनाल्डो र मानेले समान दुई/दुई गोल गर्दा अब्दुल्लाह अल हाम्दानले एक गोल गरे । अल नाज्माको लागि राकन अल-टुलायही र फिलिपे कार्डोसोले समान एक/एक गोल गरे । खेलको २२ औँ मिनेटमा अल टुलायहीले गोल गर्दै अल नाज्मालाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफको इन्जुरी समयको आठौँ मिनेटमा अल हाम्दानले गोल गर्दै अल नासरलाई १-१ गोलको बराबरीमा ल्याए ।

लगत्तै मानेले गोल गर्दै अल नासरलाई पहिलो हाफमा २-१ गोलको अग्रता दिलाएका थिए । ४८ औँ मिनेटमा कार्डोसोले गोल गर्दै पाहुना टोलीलाई २-२ गोलको बराबरीमा ल्याएका थिए । ५६ औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा गोल गर्दै अल नासरलाई ३-२ गोलको अग्रता दिलाए । ७२ औँ मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै अल नासरलाई सहज जिततर्फ अगाडि बढाएका थिए ।

दोस्रो हाफको इन्जुरी समयको पाँचौ मिनेटमा मानेले गोल गर्दै अल नासरलाई ५-२ गोलको जित दिलाएका हुन् । जितसँगै अल नासर २७ खेलबाट ७० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ भने समान खेलबाट ८ अंक जोडेको अल नाज्मा पुछारमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *