काठमाडौँ । उत्कृष्ट लयमा रहेका अर्जुन कुमालको शतकमा गण्डकी प्रदेशले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जित निकालेको छ ।
वीरगञ्जमा शनिवार भएको खेलमा अर्जुनको शतक प्रेरित गण्डकीले कोशी प्रदेशमाथि ३९ रनको जित निकाल्यो । अर्जुनले एक सय २ रनको शतकीय इनिङ खेले । उनी म्यान अफ दी म्याच पनि भए । उत्कृष्ट लयमा रहेका अर्जुन जारी प्रतियोगितामा सर्वाधिक (३४६ रन) रनकर्ता पनि हुन् ।
नारायणी क्रिकेट मैदानमा गण्डकीले दुई सय २८ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको कोशीले पूरै ओभर खेले पनि ९ विकेटको क्षतिमा १८८ रन मात्र बनाउन सक्यो । सामान्य लक्ष्य पछ्याए पनि कोशीले सुरुदेखि सङ्घर्ष गर्यो । सुरुदेखि सुस्त ब्याटिङ गरेको कोशीले राम्रो साझेदारी बनाउन नै सकेन । १०४ रन जोड्दा नै कोशीका सात ब्याटर पभेलियन फर्किए । तर, आठौँ विकेटका लागि दीपेश कँडेल र आशिष् मगरबीच ६० रनको साझेदारी बन्यो ।
विपिन खत्रीले आशिषलाई ३० रनमा विकेटकिपर मुस्कान थापाबाट क्याच गराउँदै साझेदारी तोडे । दीपेशले अविजित ५२ रनको सङ्घर्षपूर्ण इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । दीपेशले ७३ बलमा तीन चौका र एक छक्का प्रहार गरे । अन्य ब्याट्सम्यानले अपेक्षाअनुसार प्रदर्शन गर्न नसक्दा कोशी लक्ष्यभन्दा टाढा रह्यो । ओपनरद्वय सुमन श्रेष्ठले २० रन र सकिब हकले १७ रन जोड्दा सिवास बजगाईँले १५ र सोनी अन्सारी १८ रन बनाए ।
गण्डकीको बलिङमा सिबरिन श्रेष्ठले तीन तथा अपराजित पौडेल र सुवास भण्डारीले दुई विकेट लिए । कमल परियार र विपिनको नाममा समान एक विकेट रह्यो ।
टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ओभरमा सात विकेट गुमाउँदै दुई सय २७ रनको मध्यम योगफल बनाएको थियो । ६० रनमा ६ विकेट गुमाएको कोशी नाजुक स्थितिमा पुग्यो । तर सातौँ विकेटका लागि अर्जुन र कप्तान विपिन खत्रीले १६७ रनको साझेदारी गर्दै मध्यम योगफलतर्फ अग्रसर गराए । ओपनर अर्जुनले उत्कृष्ट प्रदर्शन गर्दै १४१ बलमा १०२ रनको शतकीय इनिङ खेले ।
उनले ८ चौका प्रहार गरे । कप्तान विपिन ८६ बलमा ७६ रनमा अविजित रहे । गण्डकीले सुरुदेखि नै विकेट गुमाए पनि कुमाल र खत्रीको साझेदारीले इनिङ सम्हाले । अर्जुन अन्तिम ओभरमा आउट भए । विपिनले ६ चौका र दुई छक्का हिर्काए । दीपक डुम्रेले ९ बलमा १५ रनको आक्रामक योगदान दिए । अन्य ब्याट्सम्यान भने चल्न सकेनन् । ओपनर गौरव विक शुन्य, मुस्कान थापा १०, सिबरिन श्रेष्ठ १ र दिनेश बुढामगर १ रनमै आउट भए ।
कोशीका लागि दीपेश कँडेल सबैभन्दा सफल बलर साबित भए । उनले १० ओभरमा मात्र १८ रन खर्चेर चार विकेट लिए । राकेश शाह र सुजन थापालियाले समान १÷१ विकेट लिए । कोशीका बलर अंकित न्यौपानेले चार ओभरमा २१ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस जितसँगै गण्डकीले प्रतियोगितामा पाँच अंक जोडेको छ भने कोशी छैटौँ खेलसम्म जितविहीन छ ।
प्रधानमन्त्री कपको इतिहासमा अर्जुनले एक हजार रनसमेत पूरा गरेका छन् । उनले मात्र २५ खेलमा १ हजार रन पूरा गरेका हुन् । एक हजार रन पार गर्ने अर्जुन दसौँ खेलाडी हुन् ।




