काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त कप्तान सन्दीप लामिछानेले क्रिकेट टोलीमा सबैका लागि ढोका खुला भएको टिप्पणी गरेका छन् ।
बीग बास लिग खेल्ने क्रममा अष्ट्रेलियामा रहेका सन्दीपले फेसबुकमार्फत प्रतिक्रिया दिदै भनेका छन्,‘छातीमा नेपालको झण्डा बोक्ने मेरो सपना सधैं थियो र अब नेपाल क्रिकेट टोलीको नेतृत्व गर्ने अवसर पाएकोमा म भित्रैदेखि नम्र र सम्मानित छु। म नेपाल क्रिकेट संघ (क्यान), नेपालका भव्य जनता र विश्वभरिका सबै फ्यानहरूलाई उनीहरूको निःशर्त समर्थन र प्रार्थनाको लागि कृतज्ञ छु।’
क्रिकेट टोलीको पहिलो लक्ष्य भनेको नेपाललाई विश्व क्रिकेटको यात्रामा प्रभावकारी रूपमा राख्ने रहेको भन्दै उनले भनेका छन्,‘हामी एक परिवार, एक टोली, एक इकाईको रूपमा खेल्नेछौं। यस टोलीको ढोका सबैका लागि खुला रहनेछ।’
नेपाल क्रिकेट संघले अनुशासन उल्लंघन गरेको भन्दै कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दिपेन्द्रसिह ऐरीलाई पदमुक्त गर्दै सन्दीपलाई नयाँ कप्तान नियुक्त गरेको थियो । क्यानले मल्ल, ऐरीका साथै सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि सेन्ट्रल कन्ट्याक्टकबाट समेत हटाएको छ ।




