अर्घाखाँची ।नेपालमा मात्र पाइने दुर्लभ तथा मौलिक प्रजातिको चरा काँडे भ्याकुर अर्घाखाँचीको शितगंगा नगरपालिका–स्थित ठाडादह क्षेत्रमा पहिलो पटक देखिएको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पहिलो पटक यो चरा अभिलेख हुनु यहाँको जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।
डिभिजन वन कार्यालय अर्घाखाँचीका अनुसार यसअघि जिल्लाको दक्षिणी क्षेत्रमा काँडे भ्याकुर देखिएको अभिलेख वा जानकारी थिएन । ठाडादह क्षेत्रमा यसको उपस्थिति पुष्टि हुनुले अर्घाखाँचीको वन तथा प्राकृतिक वासस्थानमा पाइने चराहरूको विविधता थप उजागर गरेको छ ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी केसर खड्काले नेपालबाहेक विश्वका अन्य कुनै पनि देशमा प्राकृतिक रूपमा नपाइने काँडे भ्याकुर ठाडादह क्षेत्रमा देखिनु जिल्लाका लागि महत्त्वपूर्ण उपलब्धि भएको बताए । यसअघि दक्षिणखाँची क्षेत्रमा यो प्रजाति अभिलेख भएको जानकारी थिएन ।
अङ्ग्रेजीमा ‘स्पाइनी ब्याब्लर’ नामले चिनिने काँडे भ्याकुर नेपालको मौलिक जैविक सम्पदाका रूपमा परिचित छ । यसको वैज्ञानिक नाम ब्अबलतजयउतष्बि लष्उबभिलकष्क हो । नेपालमा मात्र पाइने यो चरा विश्वकै दृष्टिले पनि विशेष महत्त्व राख्ने प्रजातिमध्ये एक हो ।
काँडे भ्याकुर सामान्यतया घना झाडी, वनका झाडीदार क्षेत्र तथा प्राकृतिक वनस्पतिले ढाकिएका स्थानमा बसोबास गर्ने लजालु स्वभावको चरा हो । झाडीभित्र लुकेर बस्ने यसको स्वभावका कारण यसलाई सहजै देख्न कठिन हुन्छ । त्यसैले नयाँ क्षेत्रमा यसको उपस्थिति देखिनु पक्षी अध्ययन र जैविक विविधताको अभिलेखीकरणका दृष्टिले महत्त्वपूर्ण मानिन्छ ।
प्राकृतिक सुन्दरता र जैविक विविधताका दृष्टिले महत्त्वपूर्ण मानिने शितगंगा नगरपालिका–ठाडादह क्षेत्रमा काँडे भ्याकुर देखिनुले यस क्षेत्रको पर्यावरणीय महत्वलाई थप उजागर गरेको छ । यहाँका वन, झाडी तथा प्राकृतिक वासस्थानमा विभिन्न प्रजातिका चराहरूको उपस्थिति हुन सक्ने सम्भावनालाई समेत यसले सङ्केत गरेको छ ।
नेपालका लागि विशेष महत्त्व राख्ने यस्तो दुर्लभ चराको संरक्षणका लागि यसको प्राकृतिक वासस्थान जोगाउनु आवश्यक छ । वन विनाश, झाडी तथा प्राकृतिक वनस्पतिको विनाश र मानवीय गतिविधिले यस्ता चराको वासस्थानमा असर पार्न सक्ने भएकाले संरक्षणमा विशेष ध्यान दिनुपर्ने डिभिजन वन कार्यालय अर्घाखाँचीका सूचना अधिकारी खड्काको भनाई छ ।
ठाडादह क्षेत्रमा काँडे भ्याकुर देखिनु केवल एउटा दुर्लभ चराको उपस्थितिको विषय मात्र नभई अर्घाखाँचीको प्राकृतिक सम्पदा र जैविक विविधताको पहिचानसँग जोडिएको विषय पनि हो । यसले जिल्लामा पक्षी अवलोकन, अनुसन्धान तथा पर्यापर्यटनको सम्भावनालाई समेत थप उजागर गरेको छ ।




