देश

बूढीगण्डकी बाढीपीडितको उद्धारमा जुट्न कांग्रेसको आह्वान

काठमाडौं । नेपाली कांग्रेसले बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित नागरिकको उद्धार तथा सुरक्षाका लागि एकजुट भएर परिचालित हुन सरकार, पार्टीका नेता–कार्यकर्ता र सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ ।

पार्टीको केन्द्रीय कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै बाढीले पुर्‍याइरहेको क्षतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेसले प्रभावित क्षेत्रमा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग मागसमेत गरेको छ ।

पार्टीले बूढीगण्डकीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन र सुरक्षित स्थानमा जान अनुरोध गरेको छ । साथै, पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो सुरक्षालाई प्राथमिकतामा राख्दै उद्धार र राहत कार्यमा सक्रिय हुन आह्वान गरेको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले पनि बाढीबाट उत्पन्न विपद्बारे सरकारको ध्यानाकर्षण गराएका छन् । महाधिवेशन सकेर घर फर्किरहेका पार्टीका नेता तथा कार्यकर्तालाई सुरक्षित रूपमा गन्तव्यमा पुग्न आग्रह गर्दै उनले बाढी प्रभावित क्षेत्र आसपासका कार्यकर्तालाई तत्काल उद्धारमा खटिन आह्वान गरेका छन् ।

कांग्रेसले विपद्को यस घडीमा प्रभावित नागरिकको ज्यान जोगाउन, जोखिम न्यूनीकरण गर्न र उद्धार कार्यलाई प्रभावकारी बनाउन सबै पक्षबीच समन्वय र एकता आवश्यक रहेको जनाएको छ । विज्ञप्तिमा पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विपद्को सामना गर्न सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *