काठमाडौं । सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ नगरिएको दाबी गरेका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने क्रममा मन्त्री पोखरेलले जबरालाई पक्राउ वा नियन्त्रणमा लिइएको नभई सुरक्षाका लागि सुरक्षित स्थानमा लगिएको बताएका हुन् ।
उनले भने, “स्पष्ट भइसकेको छ, उहाँलाई पक्राउ गरिएको पनि होइन, नियन्त्रणमा लिएको पनि होइन । उहाँले आफ्नो परिवारबाट थप सुरक्षा माग गर्दै प्रहरी कार्यालयमा निवेदन दिनुभएको थियो । उहाँको सुरक्षामा प्रश्न आएपछि सुरक्षा प्रदान गर्न रेस्क्यु गरेर लगिएको हो । नियन्त्रणमा लिएको वा गिरफ्तार गरेको होइन ।”
मन्त्री पोखरेलले जबरालाई थ्रेट आएको र त्यसपछि सुरक्षाका लागि सुरक्षित स्थानमा लगिएको बताए । उनका अनुसार जबरालाई जेनजी समूहबाट नभई अज्ञात समूहबाट मोबाइलमा सन्देश पठाएर धम्की दिइएको थियो ।




