काठमाडौं । प्रहरी नियन्त्रणमा लिइएका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई परिवारको जिम्मा लगाइएको छ।
प्रहरी स्रोतका अनुसार जबरालाई आइतबार परिवारको जिम्मा लगाइएको हो। यसअघि जबरालाई प्रहरी नियन्त्रणमा लिइएको खबर सार्वजनिक भएपछि उनको अवस्थाबारे बुझ्न पुगेको राष्ट्रिय मानवअधिकार आयोगको टोलीलाई प्रहरीले भेट गर्न नदिई फिर्ता पठाएको थियो।
जबरालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले शनिबार राति काठमाडौंको महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएको थियो।
उनीलाई नियन्त्रणमा लिनुको कारणबारे प्रहरीले औपचारिक रूपमा स्पष्ट जानकारी गराएको छैन। जबराविरुद्ध परेका उजुरीका आधारमा प्रधानमन्त्रीको सचिवालयको निर्देशनमा उनलाई नियन्त्रणमा लिइएको दाबी गरिएको छ।




