काठमाडौँ। नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया जारी रहेका बेला पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि समानान्तर महाधिवेशनको तयारी थालेको छ ।
संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म काठमाडौँमा १५औँ महाधिवेशन गर्ने गरी प्रक्रिया अघि बढाइरहेका बेला देउवा पक्षले भने असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरेर मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ ।
प्रतिनिधि छनोट प्रक्रिया रोकेर वार्ता र सहमतिका आधारमा महाधिवेशन गर्नुपर्ने आफ्नो माग सुनुवाइ नभएको भन्दै देउवा पक्षले छुट्टै महाधिवेशनको तयारी अघि बढाएको हो । उक्त समूहले १४औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रियामा सहभागी नभएको जनाएको छ ।
देउवा पक्षबाट गठित १५औँ महाधिवेशन तयारी समितिका संयोजक डा. शशाङ्क कोइरालाले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गरी मंसिर २१ देखि २३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारी भइरहेको बताएका छन् । समूहले समानान्तर महाधिवेशनका लागि विभिन्न जिल्लामा प्रतिनिधि तथा संयोजकसमेत खटाएको छ ।
यसैबीच, देउवा पक्षीय सदस्यता व्यवस्थापन केन्द्रीय समितिले क्रियाशील सदस्यताको विवरण केन्द्रीय निर्वाचन समितिलाई बुझाएको नेता डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक किरणराज शर्मा पौडेलले निर्वाचन समितिका संयोजक एकराज पोखरेललाई क्रियाशील सदस्यताको विवरण शनिबार हस्तान्तरण गरेको जानकारी दिएका छन् ।
संयोजक पौडेलका अनुसार असोज ९ गतेसम्म वितरण तथा नवीकरण गरिएका क्रियाशील सदस्यताको विवरण निर्वाचन समितिलाई बुझाइएको छ । उनका अनुसार कुल क्रियाशील सदस्य सङ्ख्या सात लाख ८३ हजार ८३६ रहेको छ । त्यसमध्ये पाँच लाख ७३ हजार ३६९ पुराना सदस्यता नवीकरण गरिएको र दुई लाख १० हजार ६६७ नयाँ क्रियाशील सदस्यता रहेको उनले जानकारी दिएका छन् ।
पौडेलले यसअघि क्रियाशील सदस्यता व्यवस्थापनको जिम्मेवारी महामन्त्री गगन थापालाई दिइए पनि समयमै काम सम्पन्न हुन नसकेको दाबी गर्दै देउवाले आफूलाई जिम्मेवारी दिएपछि सदस्यताको काम टुङ्गो लगाएर विवरण हस्तान्तरण गरिएको बताएका छन् ।
देउवा पक्षीय नेता डा. प्रकाशशरण महतले पार्टीभित्र एकताको महाधिवेशन गर्न आफूहरूले अन्तिमसम्म प्रयास गरेको बताएका छन् ।
उनले भने, ‘हामी पार्टीभित्र एकताको महाधिवेशन गर्न चाहन्थ्यौँ । यसका लागि अन्तिमसम्म प्रयास पनि गरेका हौँ र सबै ढोका खुला राखेर कोसिस पनि गरेका हौँ । तर सम्भव नभएपछि आपत्कालीन मोडमा तयारीमा लागेका छौँ ।’
कांग्रेसको संस्थापन पक्षले भने असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरी निर्वाचन प्रक्रिया अघि बढाएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिकाअनुसार विभिन्न तहका अधिवेशन सम्पन्न गर्दै केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम तय गरिएको छ ।




