देश

मलेसियाली समकक्षीसँग प्रधानमन्त्री शाहको टेलिफोन संवाद, श्रमिकमाथिको शोषण रोक्न संयुक्त पहलमा जोड

 

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसँग आज बिहान टेलिफोनमार्फत विशेष छलफल गरेका छन्।

छलफलका क्रममा प्रधानमन्त्री शाहले नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउनुपर्नेमा जोड दिएका छन्। उनले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रथाप्रति असन्तुष्टि जनाउँदै यस्तो प्रवृत्ति कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे।

प्रधानमन्त्री शाहले श्रमिकहरूलाई प्रत्यक्ष असर पार्ने यस्ता अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको स्थायी समाधानका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताए।

“हामीलाई सिन्डिकेट र बिचौलियातन्त्र मन पर्दैन र यो कुनै पनि हालतमा स्वीकार्य छैन। यसले श्रमिकहरूलाई मारमा पारेको छ,” प्रधानमन्त्री शाहले भने, “त्यसैले तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।”

प्रधानमन्त्री शाहको धारणा सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले पनि सिन्डिकेट र बिचौलिया प्रथाको विरोधमा आफू स्पष्ट रहेको बताएका छन्।

उनले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई तत्काल नेपालका श्रममन्त्रीसँग समन्वय गरी छलफल अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे।

“यस्तो गलत र शोषणकारी परिपाटीको म पनि पूर्ण विरुद्धमा छु। म तुरुन्तै हाम्रा श्रममन्त्रीलाई यस विषयमा नेपाली समकक्षीसँग छलफल गरी ठोस निकास निकाल्न निर्देशन दिन्छु,” मलेसियाली प्रधानमन्त्री इब्राहिमले भने।

दुई प्रधानमन्त्रीबीचको छलफलले नेपालबाट मलेसिया जाने श्रमिकको रोजगारी प्रक्रियालाई थप पारदर्शी, व्यवस्थित र श्रमिकमैत्री बनाउन दुई देशका सम्बन्धित निकायबीच प्रत्यक्ष समन्वयको आवश्यकता औँल्याएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *