काठमाडौँ । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनापछि सरकार र पीडित पक्षबीच भएका सम्झौता तत्काल कार्यान्वयन गर्न माग गर्दै सरकारको ढिलासुस्तीप्रति आपत्ति जनाएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिले मंगलबार विज्ञप्ति जारी गर्दै घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि तत्काल न्यायिक आयोग गठन गर्न माग गरेको हो। घटनाका विषयमा उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न यसअघि नै माग गरे पनि सरकारले त्यसतर्फ पर्याप्त ध्यान नदिएको कांग्रेसको आरोप छ।
घटनामा निष्पक्ष छानबिनको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दै जाँदासमेत सरकारले चासो नदेखाएको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ। यादवको माग सम्बोधन गर्दै तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न कांग्रेसले सरकारसँग आग्रह गरेको छ।
कांग्रेसले देवानगञ्ज–कप्तानगञ्जलगायत क्षेत्रमा भएको घटनाका क्रममा निर्दोष नागरिकले ज्यान गुमाउनुका साथै निजी सम्पत्तिमा आगजनी र तोडफोडबाट ठूलो क्षति भएको जनाएको छ। सरकारले पीडित पक्षलाई न्याय दिने प्रतिबद्धतासहित सम्झौता गरे पनि चार जनालाई शहीद घोषणा गर्नेबाहेक अन्य विषय कार्यान्वयन नभएको कांग्रेसको भनाइ छ।
सम्झौता कार्यान्वयनमा भएको ढिलाइका कारण स्थानीय समुदायमा आक्रोश बढ्दै गएको र पुनः अर्को दुर्घटना निम्तिन सक्ने खतरा रहेको कांग्रेसले चेतावनी दिएको छ। सरकारले गरेका सम्झौता अविलम्ब कार्यान्वयन गरी बाँकी प्रक्रिया अघि बढाउन उसले माग गरेको छ।
कांग्रेसले चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याजपीडितलगायत विभिन्न पेशा तथा समुदायसँग सरकारले गरेका सम्झौता पनि कार्यान्वयन नभएको आरोप लगाएको छ।
विभिन्न समूह तथा संघसंस्थासँग गरिएका सहमति र समझदारीलाई तत्कालका लागि समस्या टार्ने ‘कागजी सम्झौता’मा मात्र सीमित नगरी इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्ने कांग्रेसको भनाइ छ। सहमति कार्यान्वयन गरी सम्बन्धित पक्षलाई राहत र न्याय उपलब्ध गराउन सरकारसँग माग गरिएको छ।
हरेक घटनामा सहमति गर्न तयार हुनु मात्र सरकारको उपलब्धि नभएको उल्लेख गर्दै कांग्रेसले सहमति कार्यान्वयनमा देखिएको उदासीनता गम्भीर चिन्ताको विषय बनेको जनाएको छ।
सरकारले पटक–पटक सहमति गर्ने तर कार्यान्वयनमा तत्परता नदेखाउँदा सरकारप्रति नागरिकको विश्वास कमजोर हुँदै गएको कांग्रेसको ठहर छ। यस्तो अवस्थाले समाजमा निराशा बढाउनुका साथै ‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वाससमेत कमजोर बनाउँदै लगेको भन्दै कांग्रेसले सरकारलाई संवेदनशील भएर काम गर्न आग्रह गरेको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले समसामयिक राजनीतिक तथा जनसरोकारका विषयमा धारणा राख्ने क्रम जारी रहेको पार्टीले जनाएको छ।






