काठमाडौं । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको रसाकक्सी चलिरहेका बेला नेपाली कांग्रेसमा थप आशा देखिएको छ । प्रदेश सरकार गठनका विषयमा नेकपा एमाले र नेकपाबिच सहमतीमा संका उत्पन्न भएपछि आइतबार नै राजीनामाको सूची तयार जम्मा गरेर बसेको कांग्रेसमा थप आशा देखिएको हो । आतबार अघि नै प्रदेश सरकार गठनमा एमाले र नेकपाबिच तीन बुँदे सहमति भएपछि नेपाली कांग्रेसले आफ्ना मन्त्रीहरुको सुची तयार पारी संसदीय दलको कार्यालयमा बुझाइसेको थियो । तर दुई दलबिचको सहकार्यमा संका उत्पन्न भएपछि कांग्रेसले सो राजीनामाको सुची होल्ड गरेर राखेको छ ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले केन्द्रबाट आफ्नो प्रदेशको अवस्थाअनुसार अघि बढ्न आएको निर्देशनअनुसार मन्त्रीहरूको राजीनामा रोकेर आन्तरिक तथा अन्य दलसँगको छलफलमा जुटेको बताउँछन् । सबै मन्त्रीको राजीनामा पत्र दलको कार्यालयमै राखेर आज सरकारको नेतृत्व गरेको एमाले संसदीय दलका नेता मुख्यमन्त्री चेतनारायण आचार्यसँग भेटघाट तथा नेकपासहितका अन्य दलसँग छलफल गरेको चौधरीको भनाइ छ । उनका अनुसार कांग्रेसबाट सो प्रदेशमा नेतृत्व गरिरहेका मन्त्रीहरुको राजीनामा पर्ख र हेरको अवस्थामा पुगेको छ । मंगलबारसम्म वार्ताले निष्कर्ष निकाल्ने उनले बताएका छन् ।
मन्त्री प्रचण्ड विक्रम न्यौपानेले भने नेकपा र एमालबीच कुनै आधिकारिक निर्णय नभएका कारण आफूहरु पनि प्रतिक्षा र छलफलमै रहने बताउँछन् । लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका पाँच मन्त्रीले संसदीय दलसमक्ष आइतबार राजीनामा पत्र बुझाएका थिए । कांग्रेस संसदीय दलकी मुख्य सचेतक जमुना ढकालले प्राविधिक समस्याका कारण राजीनामा होल्डमा रहेको बताएकी छन् । कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्ड विक्रम न्यौपाने, सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरणमन्त्री देवकरण कलवारको सहभागिता रहेको छ ।
।
८७ सदस्यीय प्रदेश सभा अहिले ८३ कायम रहेको छ । एमालेका २९ र नेकपाको सभामुखसहित १३ जना छन् । बहुमतका लागि ४२ जना आवश्यक पर्छ । तर संख्याबा अभावका कारण अन्य दललाई पनि समावेश गरेर सरकार गठन गर्नुपर्ने बाध्यता देखिएको छ ।




