देश

विश्वासको मतबाट एक साता पछि हटे मधेशका मुख्यमन्त्री, गठबन्धनभित्रै बढ्यो अविश्वास

काठमाडौं । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव अन्ततः निर्धारित मितिमा विश्वासको मत लिनबाट पछि हटेका छन् । सत्ता गठबन्धनभित्र बढ्दो असन्तुष्टि, आफ्नै दलभित्रको खिचातानी र ‘फ्लोर क्रस’ को सम्भावित जोखिम देखिएपछि उनले जेठ १ गतेका लागि तय गरिएको विश्वासको मतको प्रक्रिया स्थगित गरेका हुन् ।

अब मुख्यमन्त्री यादवले जेठ ८ गते विश्वासको मत लिने तयारी गरिएको नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले जानकारी दिएका छन् । यद्यपि, यो एक साताको समय केवल प्राविधिक तयारीका लागि नभई सत्ता जोगाउने राजनीतिक अंकगणित मिलाउनका लागि प्रयोग हुने आकलन गरिएको छ ।

मुख्यमन्त्री यादवले विश्वासको मत लिन प्रदेशसभा बैठक आह्वान गरिसकेका थिए । तर अन्तिम समयमा आएर आफ्नै गठबन्धनका केही सांसद असन्तुष्ट देखिनु, जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिनु र सत्ता समीकरण अस्थिर बन्नुले उनलाई पछि हट्न बाध्य बनाएको बताइन्छ ।

विशेषगरी वैशाख २१ गते जनमत पार्टी सरकारबाट बाहिरिएपछि मधेश सरकारको बहुमत संकटमा परेको थियो । त्यसयता मुख्यमन्त्री यादव निरन्तर सांसदहरू जोगाउने, असन्तुष्ट पक्षलाई मनाउने र सत्ता समीकरण टिकाइराख्ने प्रयासमा देखिएका छन् । तर विश्वासको मत लिनुअघि नै पछि हट्नुले सरकारभित्रको अस्थिरता झन् स्पष्ट बनाएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

प्रदेश राजनीतिमा अहिले सत्ता टिकाउने खेल केन्द्रमा पुगेको छ । सार्वजनिक रूपमा गठबन्धन कायम रहेको दाबी गरिए पनि भित्री रूपमा अविश्वास, शक्ति संघर्ष र नेतृत्वप्रति असन्तुष्टि बढ्दै गएको देखिन्छ । मुख्यमन्त्री यादवको पछिल्लो निर्णयले मधेश सरकार सुरक्षित भन्दा पनि दबाबमा रहेको संकेत गरेको टिप्पणी हुन थालेको छ ।

विश्वासको मत लिने मिति सारिएसँगै अब आउने एक सातामा मधेश प्रदेशको सत्ता समीकरण कुन दिशामा जान्छ भन्ने चासो बढेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *