राजनीति

मन्त्रिपरिषद् बैठक जारी, संसद् स्थगितबीच अध्यादेश ल्याउने तयारी

काठमाडौं । सिंहदरबारमा अहिले मन्त्रिपरिषद् बैठक जारी रहेको छ । बैठकले केही महत्वपूर्ण निर्णय गर्ने सम्भावना रहेको बताइएको छ ।

सरकारले आजको बैठकमार्फत केही अध्यादेश ल्याउने तयारी गरेको स्रोतले जनाएको छ । आह्वान भइसकेको संघीय संसद्को अधिवेशन स्थगित गरिएको पृष्ठभूमिमा अध्यादेश ल्याउने तयारी गरिएको हो ।

स्रोतका अनुसार विशेषगरी संवैधानिक परिषद् सम्बन्धी व्यवस्था समेटिएको अध्यादेश अघि बढाउने तयारी गरिएको छ ।

यसअघि सरकारले राष्ट्रपति रामचन्द्र पौडेल को सिफारिसमा १७ वैशाखका लागि संघीय संसद् अधिवेशन आह्वान गरेको थियो । तर भोलिपल्टै सरकारकै सिफारिसमा उक्त अधिवेशन स्थगित गरिएको थियो ।

अध्यादेशमार्फत संवैधानिक संरचना सम्बन्धी कानुनी व्यवस्था अघि बढाउने तयारीसँगै राजनीतिक सरोकार थप चासोको विषय बनेको छ ।

यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ले संसद् अधिवेशन स्थगित गरेर अध्यादेश ल्याउने सरकारको कदमप्रति आपत्ति जनाएको छ।

कांग्रेस प्रवक्ता देवराज चालिसे ले संसद् अधिवेशन बोलाइसकेपछि बिना जानकारी स्थगित गर्नु र संसद् छलेर अध्यादेश ल्याउने प्रयास मर्यादित नभएको बताएका छन्।

उनले कानुन निर्माण जनताको प्रतिनिधिमूलक थलो संसद्मार्फत पारदर्शी रूपमा हुनुपर्ने उल्लेख गर्दै यस्तो कदमले सरकारलाई अनुकूलता प्रदान नगर्ने चेतावनी दिए।

“बोलाइएको संसद् स्थगित गरेर अध्यादेश ल्याइयो भने त्यो उचित होइन भनेर हामीले असहमति व्यक्त गर्दछौं,” चालिसेले भने।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *