देश

सतहत्तरवटै जिल्लामा निर्वाचनको तयारी पूरा: गृह मन्त्रालय

काठमाडौँ। गृह मन्त्रालयले बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आज बिहान मन्त्रालयमा बसेको ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँगको भर्चुअल बैठकमा निर्वाचनको सुरक्षा, व्यवस्थापनलगायत सम्पूर्ण व्यवस्थापकीय काम पूरा भएको जनाएको हो ।

गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठको अध्यक्षतामा मन्त्रालयका उच्च अधिकारीसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको भर्चुअल बैठकले सबै जिल्लाको निर्वाचन तयारी र सुरक्षा व्यवस्थापनबारे जानकारी लिएको छ ।

बैठकमा निर्वाचनको तयारी, सुरक्षा व्यवस्थालगायत विषयमा केन्द्रित रहेर छलफल भएको मन्त्रालयका सहप्रवक्ता रमा आचार्यले जानकारी दिए । उनका अनुसार सो छलफलमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिनुका साथै सुरक्षा अवस्था सामान्य रहेकोबारे जानकारी गराइएको छ ।

बैठकमा जिल्लाको निर्वाचन तयारी, विद्यमान अवस्था, केन्द्रले गर्नुपर्ने समन्वयलगायत विषयमा छलफल भएको छ । शान्ति सुरक्षाको अवस्था, निर्वाचनको दिन अपनाउनुपर्ने सतर्कता र सुरक्षा संवेदनशिलताबारे समीक्षा भई आगामी रणनीति बनाउने समझदारी बनेको सहप्रवक्ता आचार्यले जानकारी दिए ।

गृहसचिव श्रेष्ठले निर्वाचन सुरक्षालाई मजबुत र प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिए । बैठकमा सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीले सबै कर्मचारी सुरक्षा संयन्त्र र निर्वाचन सामग्री मतदानस्थलमा पुगेको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *