काठमाडौं । नेपालको चुनावी मैदान तातेसँगै राजनीतिक दलहरूबीच प्रतिस्पर्धा मात्र होइन, ‘माहोल’ निर्माणको होड पनि तीव्र बनेको छ। यही सन्दर्भमा नेपाली कांग्रेस भित्र देखिएको पछिल्लो एकता, नेतृत्व परिवर्तन र अन्य दलबाट भइरहेको प्रवेशलाई धेरैले सम्भावित बहुमतको संकेतका रूपमा व्याख्या गर्न थालेका छन्। तर के यो उत्साह मतमा रूपान्तरण हुन सक्छ ? विशेष महाधिवेशनपछि पार्टीको नेतृत्वमा आएको परिवर्तन कांग्रेसका लागि टर्निङ पोइन्ट बनेको विश्लेषकहरू बताउँछन्। गगन कुमार थापा सभापति र विश्वप्रकाश शर्मा उपसभापतिका रूपमा अघि आएपछि पार्टीभित्र पुस्तान्तरणको स्पष्ट सन्देश गएको छ। पुराना अनुहार र शैलीप्रति निराश बनेको मतदाता वर्गमा ‘नयाँ ऊर्जा’ को अनुभूति गराउन यो कदम प्रभावकारी देखिएको छ। एक सयभन्दा बढी नयाँ अनुहारलाई उम्मेदवार बनाइनु र विवादित छवि भएका केही पुराना नेताहरूलाई किनारामा राखिनुले सुधारको संकेत दिएको छ।
चुनावको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी लगायत अन्य दलबाट कांग्रेस प्रवेश गर्ने क्रम बढेको छ। रास्वपाका पूर्वनेता डा। प्रणय शमशेर राणा, ममता शर्मा, भरतप्रसाद पराजुली, दिनेश हुमागाईँजस्ता नामहरूको आगमनले कांग्रेसलाई मनोवैज्ञानिक लाभ पुगेको देखिन्छ। उनीहरूको तर्क छ—नयाँपनको नारा दिने दलभित्रै विधि–विधान कमजोर देखिएपछि आफूहरू ‘पुरानै घर’ फर्किएका हुन्। यसले कांग्रेसलाई “स्थायित्व र संस्थागत लोकतन्त्र” को पक्षधर पार्टीका रूपमा पुनःस्थापित गर्ने अवसर दिएको छ। नेपालको निर्वाचन गणितमा मधेश निर्णायक मानिन्छ। ३२ प्रत्यक्ष सिट र ठूलो समानुपातिक मतदाता रहेको यस क्षेत्रमा कांग्रेसले विशेष जोड दिएको छ। जनकपुरबाट घोषणापत्र सार्वजनिक गर्नु र सभापति थापा स्वयं सर्लाही–४ बाट चुनाव लड्नु रणनीतिक चालका रूपमा हेरिएको छ। विश्लेषकहरुका अनुसार, यदि मधेशमा विश्वास पुनःआर्जन गर्न सकियो भने त्यसको प्रभाव अन्य क्षेत्रमा पनि पर्न सक्छ। पछिल्ला वर्षमा कमजोर बन्दै गएको मधेश आधार पुनर्जीवित हुनु कांग्रेसका लागि बहुमतको ढोका खोल्ने कारक बन्न सक्छ।
आमसभाको प्रभाव र जनधारणा
कांग्रेसले देशव्यापी आमसभामार्फत ‘भिजन १०’ र सुधारको एजेन्डा प्रस्तुत गरिरहेको छ। पोखरा, बुटवल, सुर्खेत, झापा, मोरङदेखि काठमाडौं उपत्यकासम्मको सक्रिय अभियानले चुनावी बहसलाई आफ्नो एजेन्डातर्फ मोड्ने प्रयास देखिन्छ। यसबीच, प्रगतिशील लोकतान्त्रिक पार्टी लगायत केही दलले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्नु र विभिन्न क्षेत्रमा उम्मेदवारी फिर्ता हुनु गठबन्धनबाहिरको ‘सफ्ट सपोर्ट’ को संकेत मानिएको छ।यद्यपि कांग्रेसका लागि बाटो सहज भने छैन। रास्वपाले युवा मतदातालाई लक्षित गर्दै वैकल्पिक राजनीति र नयाँ नेतृत्वको सन्देश दिइरहेको छ। काठमाडौं र मधेशमा नयाँ समीकरण देखिनु कांग्रेसका लागि चुनौतीपूर्ण हुन सक्छ। तर विश्लेषकहरूको मतमा, यदि नयाँ नेतृत्वले स्थायित्व, परिपक्वता र उत्तरदायित्वको सन्देश प्रभावकारी रूपमा मतदातासम्म पुर्याउन सके बहुमत सम्भव छ। विशेषतः नेतृत्व परिवर्तनले निराश मतदातालाई फर्काउने संकेत देखिएको छ।
निर्वाचन नजिकिँदै जाँदा कांग्रेसभित्र देखिएको एकता, नयाँ नेतृत्वप्रतिको विश्वास र अन्य दलबाट भइरहेको प्रवेशले सकारात्मक माहोल निर्माण गरेको छ। तर चुनाव परिणाम अन्ततः मतदाताको अन्तिम निर्णयमा निर्भर हुनेछ। यदि ‘बदलिएको कांग्रेस’ को सन्देश मतदाताले विश्वसनीय ठाने, र मधेशसहित प्रमुख क्षेत्रमा समर्थन सुदृढ भयो भने बहुमतको सम्भावना असम्भव देखिँदैन। अन्यथा, उत्साह र वास्तविक मतबीचको दूरी नै अन्तिम परिणाम निर्धारण गर्नेछ।
चुनावी माहोल तातिरहेका बेला नेपाली कांग्रेसका सभापति तथा सर्लाही क्षेत्र न.४ बाट प्रधानमन्त्रीको दाबेदार उम्मेदवार गगन थापाले देशलाई शान्त बनाउन उत्तेजना र घृणाको भाषाबाट देश सञ्चालन सम्भव नहुने बताएका छन्। आइतबार कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अघि बढाउन सबैलाई समेट्ने शैली र सहकार्यको भावना आवश्यक पर्ने धारणा राखे। उनले भीड तान्न चर्को र उत्तेजक अभिव्यक्ति प्रयोग गर्ने प्रवृत्ति बढ्दो रहेको उल्लेख गर्दै सामाजिक सञ्जालमा भाइरल हुने भाषणले मात्र राष्ट्र नचल्ने बताए। “देश सम्हाल्न घृणा र उत्तेजनाको भाषा पर्याप्त हुँदैन, सहमति र टिमवर्क चाहिन्छ,” उनले भने।
चुनावी प्रचारको अन्तिम चरणमा प्रवेश गर्दै उनले आफ्ना नेता–कार्यकर्तालाई घोचपेच र आक्रामक अभिव्यक्तिबाट टाढा रहन आग्रह गरे। चुनावी प्रतिस्पर्धा विचार, योजना र एजेन्डामा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो। पार्टीले सार्वजनिक गरेको प्रतिबद्धतापत्र मतदातासमक्ष स्पष्ट रूपमा प्रस्तुत गर्न उनले निर्देशन दिए। थापाले प्रधानमन्त्रीका उम्मेदवारहरूबीच नीतिगत बहस र कार्यक्रममाथि प्रतिस्पर्धा हुने अपेक्षा गरे पनि त्यसअनुसारको वातावरण बन्न नसकेको उल्लेख गरे। “हामीले एजेन्डामा प्रतिस्पर्धा गर्ने सोचेका थियौँ, तर अपेक्षाअनुसार बहस हुन सकेन,” उनले बताए। चुनावी प्रतिस्पर्धा स्वाभाविक भए पनि लोकतान्त्रिक संस्कार जोगाउन संयमित भाषा र सभ्य आचरण आवश्यक रहेको उनको जोड थियो। देशलाई स्थिरता र सहकार्यको मार्गमा अघि बढाउन राजनीतिक नेतृत्वले जिम्मेवार अभिव्यक्ति दिनुपर्ने सन्देश उनले दिएका छन्।
नेपाली कांग्रेसले यसपटक चुनावी प्रचार शैलीमा उल्लेख्य परिवर्तन गरेको छ। विशेष महाधिवेशनबाट आएको नयाँ नेतृत्वले परम्परागत ढाँचा परिमार्जन गर्दै जनकपुरधामबाट प्रतिज्ञापत्र सार्वजनिक गरेको हो। सभापति गगन थापा ले ‘भिजन टेन’ सहितको प्रतिज्ञापत्र सार्वजनिक गर्दै अनलाइन र सभाहलबाट आएका प्रश्नको करिब ६ घण्टा जवाफ दिएका थिए। “लोकतन्त्रमा प्रश्न र जवाफ दुवै आवश्यक छन्,” भन्दै उनले अन्तरक्रियात्मक शैली अपनाएका हुन्।उपसभापति विश्वप्रकाश शर्मा ले देशभर चुनावी सभालाई तीव्रता दिएका छन्। पार्टीले उम्मेदवारलाई आफ्नै क्षेत्रमा केन्द्रित हुन निर्देशन दिँदै घरदैलो अभियानलाई प्राथमिकता दिएको छ। यसैबीच, कांग्रेसले सामाजिक सञ्जाल प्रचारलाई पनि सशक्त बनाएको छ। केन्द्रीय कार्यालयमा मिडिया सेन्टर स्थापना गरी १६५ उम्मेदवारका लागि प्रचार सामग्री उत्पादन, फ्याक्ट–चेक र भिडियो सामग्री तयार पार्ने काम भइरहेको जनाएको छ। नयाँ नेतृत्व, फरक प्रचार शैली र डिजिटल अभियानका साथ कांग्रेसले आफूलाई पहिलो दल बनाउने दाबी गरेको छ।




