देश

आयोगको मान्यता पाएका सभापति थापाको एकाधिकारले कांग्रेस कसरी शक्तिशाली बन्ला ?

काठमाडौं । कागजमा वैधानिकता, व्यवहारमा एकाधिकार—आज नेपाली कांग्रेसको अवस्था यही विरोधाभासमा अड्किएको छ। निर्वाचन आयोगको मान्यता पाएसँगै सभापतिको कुर्सीमा पुगेका गगन थापाले कांग्रेसलाई “बद्लिएको पार्टी” बनाउने दाबी गरिरहँदा, पार्टीभित्रै भने उनको नेतृत्व शैलीलाई निरङ्कुश र गुटीय भन्दै कडा असन्तोष चुलिँदै गएको छ।

विशेष महाधिवेशनबाट उदाएका थापालाई उनका समर्थकहरूले ‘पुस्तान्तरणको प्रतीक’ भनिरहेका छन्। तर त्यही विशेष महाधिवेशन स्वयं कांग्रेसभित्र सर्वस्वीकृत बन्न नसक्दा, थापाको नेतृत्व सुरुदेखि नै विवादको घेरामा परेको छ। संस्थापन पक्ष, विशेषतः शेरबहादुर देउवा नेतृत्वको समूहले उक्त महाधिवेशनलाई अस्वीकार गर्दै अदालतको ढोका ढकढक्याइसकेको छ। कानुनी चुनौती कायमै रहँदा पनि थापाले पार्टी सञ्चालनमा देखाएको हतारो र शक्ति केन्द्रीकरणले कांग्रेसको घाउ अझ चर्काएको आरोप छ।

सभापति बनेसँगै थापाले देखाएको पहिलो “साहसी” कदम नै पार्टीका स्थापित, अनुभवी र इतिहास बोकेका नेताहरूलाई किनारामा धकेल्नु बन्यो। टिकट वितरण प्रक्रियामा देउवा, आरजु देउवा, पूर्णबहादुर खड्काजस्ता शीर्ष नेताहरूलाई पन्छाएर आफ्नै घेराका अनुहार अघि सारिनु पार्टीभित्र ‘सुधार’ भन्दा बढी ‘बदला’को रूपमा व्याख्या हुन थाल्यो। लोकतन्त्रका लागि जेल, नेल र निर्वासन भोगेका नेताहरू चुनाव लड्न अयोग्य ठहरिँदा, कांग्रेसभित्र नै प्रश्न उठ्यो—के यही हो समावेशी नेतृत्व ?

थापाले लामो समयसम्म देउवा नेतृत्वमाथि ‘एकछत्र शासन’ को आरोप लगाउँदै आएका थिए। तर आज पार्टीभित्र धेरैलाई लाग्न थालेको छ—शक्तिको आलोचना गर्दै आएका उनी स्वयं त्यही बाटोमा हिंड्न थालेका त छैनन् ? प्रत्यक्षतर्फ करिब ७३ प्रतिशत उम्मेदवार आफ्नै पक्षका बनाइनुले गुटीय राजनीतिलाई झनै पुष्टि गरेको टिप्पणी कांग्रेसभित्र खुल्लमखुल्ला सुनिन थालेको छ।

जेन–जी आन्दोलनदेखि आन्तरिक सुधारको भाषणसम्म, थापाको राजनीति सधैँ ‘विधि र प्रणाली’ को पक्षमा उभिएको दाबी गरिन्थ्यो। तर आज निर्णय प्रक्रिया केही व्यक्तिको कोठामा सीमित हुँदा, केन्द्रीय समिति, अनुभवी नेता र कार्यकर्ता केवल दर्शक बनेको आरोप लागिरहेको छ। यही कारण कांग्रेसभित्र ऊर्जा भन्दा बढी निराशा फैलिएको देखिन्छ—गाउँदेखि सहरसम्म, चिया पसलदेखि सामाजिक सञ्जालसम्म।

सबैभन्दा गम्भीर प्रश्न भने कांग्रेसको भविष्यसँग जोडिएको छ। एकताभन्दा अघि दाबी, सहमतिभन्दा अघि निर्णय र लोकतन्त्रभन्दा अघि शक्ति प्रदर्शन—यी सबैले कांग्रेसलाई चुनावी रूपमा बलियो बनाउँछ कि झनै कमजोर ? इतिहासले देखाइसकेको छ, कांग्रेसजस्तो पार्टी व्यक्तिको  निर्णयलेहोइन, संस्थागत एकताले मात्र टिक्न सक्छ।

आज गगन थापा केवल सभापति होइनन्, भावी प्रधानमन्त्रीका दाबेदार पनि बनाइएका छन्। तर पार्टीभित्रै गहिरो चिरा, असन्तोष र कानुनी अन्योल कायमै रहँदा त्यो दाबी कत्तिको धरातलीय छ भन्ने प्रश्न गम्भीर बनेको छ। निर्वाचनको मान्यता पाएको नेतृत्वले आलोचना दबाएर होइन, समेटेर पार्टी बलियो बनाउँछ। नत्र, कांग्रेसको इतिहासमा यो अध्याय ‘पुस्तान्तरण’ होइन, ‘एकाधिकारको प्रयोग’ का रूपमा स्मरण हुने खतरा उत्तिकै छ।

कठिन परिस्थिति टरेर जान्छ, धैर्य गर्नुहोस् – ‘यतिसम्म गरेर पार्टी कब्जा गर्लान् भन्ने लागेको थिएन’ : पूर्वप्रधामन्त्री देउवा

थापामाथि चुनौतीका चाङ,कसरी गर्छन सामना ?

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *