देश

घर–घरमा एमाले अभियान : झापा–५ मा ओलीको सिधा सम्पर्क रणनीति,नेता तथा कार्यकर्तालाई अभियानमा केन्द्रित हुन आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर–५ मा पार्टी संगठनलाई थप सक्रिय बनाउँदै मतदातासँग प्रत्यक्ष सम्पर्क विस्तार गर्न स्पष्ट निर्देशन दिएका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै उनले नेता–कार्यकर्तालाई घरदैलो अभियानमा केन्द्रित हुन र जनतासामु एमालेको काम र उपलब्धि प्रभावकारी रूपमा प्रस्तुत गर्न आग्रह गरेका हुन्।

शुक्रबार आयोजित झापा–५ को क्षेत्रीय समन्वय कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले निर्वाचन जित्ने बलियो आधार एमाले नेतृत्वमा भएका विकास निर्माणका काम नै भएको दाबी गरे। उनले केन्द्रीय, प्रदेश, जिल्ला तथा पालिका तहका सबै नेता–कार्यकर्तालाई योजनाबद्ध प्रचारमा लाग्न र विपक्षीले फैलाएको भ्रम चिर्न सक्रिय भूमिका खेल्न निर्देशन दिए।

अध्यक्ष ओलीले विगत र वर्तमानको तुलना गर्दै झापाको परिवर्तन एमालेको नेतृत्वकै परिणाम भएको बताए। “म पहिलो पटक यहाँ चुनाव लड्दा धुलाम्मे सडकबाहेक केही थिएन। पिच सडक हेर्न राजमार्ग जानुपर्थ्यो,” उनले स्मरण गरे, “आज गाउँ–टोलसम्म पिच सडक पुगेको छ। यो परिवर्तन एमाले नेतृत्वकै कारण सम्भव भएको हो।”

उनका अनुसार जनताले विकास देखिरहेका छन्, तर चुनावी माहोलमा त्यसलाई फेरि स्मरण गराउनु आवश्यक छ। यही कारण घर–घरमा पुगेर संवाद बढाउनुपर्ने उनले बताए। अध्यक्ष ओलीले भदौ २३ र २४ गतेका घटनालाई लिएर एमालेमाथि लगाइँदै आएको आरोपप्रति पनि असन्तुष्टि व्यक्त गरे। उनले नवयुवाहरूले उठाएका मागलाई पूर्ण रूपमा नकार्न नमिल्ने भए पनि त्यसमा भएको घुसपैठले देशलाई नै अस्थिर बनाउन खोजिएको दाबी गरे।

“ती घटनालाई देखाएर एमालेलाई दोषी ठहर्‍याउने प्रयास भइरहेको छ,” ओलीले भने, “यस्ता आधारहीन आरोपको तथ्यका साथ प्रतिवाद गर्नुपर्छ। त्यसका लागि कार्यकर्ता जनतासँग सिधा सम्पर्कमा जानैपर्छ।” ओलीको निर्देशनको केन्द्रमा ‘हरेक मतदाता’ छन्। उनले पार्टी पंक्तिलाई निष्क्रिय बस्ने छुट नरहेको भन्दै व्यक्तिगत भेटघाट, घरदैलो र प्रत्यक्ष संवादमार्फत एमालेको सन्देश पुर्‍याउन आह्वान गरे। झापा–५ मा एमालेले यस पटक संगठन, विकासको भाष्य र सिधा सम्पर्कलाई मुख्य हतियार बनाउँदै चुनावी मैदानमा उत्रिने संकेत ओलीको निर्देशनले स्पष्ट पारेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *