देश

चुनावी प्रचारमा महँगो गाडी र विवादित व्यापारीको छायाँमा बालेन शाह ,विवादित व्यापारी भट्ट र मालपानीसँग साँठगाँठ भएको खुलासा

काठमाडौं । सिस्टमविरुद्ध’ र ‘साधारण जनताको पक्ष’ भन्ने नाराले चर्चामा आएका बालेन्द्र साह (बालेन) को चुनावी अभियानले यतिबेला गम्भीर प्रश्न जन्माएको छ। झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट उम्मेदवार बनेका साह चुनावी प्रचारका क्रममा सर्वसाधारणको यथार्थभन्दा कोसौँ टाढा देखिने विलासी जीवनशैली र विवादित व्यापारीसँगको निकटताका कारण आलोचनाको केन्द्रमा परेका छन्। पूर्वी पहाडको धार्मिक यात्राका नाममा बालेन इलाम, पाँचथर हुँदै पाथीभरा पुगेका छन्। तर उनको यात्राको साधनले नै ‘साधारण उम्मेदवार’ को छवि माथि गहिरो प्रहार गरेको छ। स्रोतका अनुसार उनी बागमती प्रदेश ०१–०३३ च ४३४३ नम्बरको ल्याण्डरोभर डिफेन्डर (टप भेरियन्ट) प्रयोग गरिरहेका छन्, जसको बजार मूल्य न्यूनतम दुई करोडदेखि आठ करोड रुपैयाँसम्म पर्छ। अझ गम्भीर कुरा, उक्त गाडी करेन्ट चाउचाउ उत्पादक कम्पनीका मालिक कमल किशोर मालपानीका छोरा नितेश मालपानीको नाममा दर्ता रहेको बताइन्छ।

यहीँबाट प्रश्न उठ्छ— भ्रष्टाचार, पूँजीवादी गठजोड र राज्य–व्यवसायी साँठगाँठको आलोचना गर्दै आएका बालेन स्वयं यस्तै विवादित व्यावसायिक घरानाको साधन प्रयोग गरेर चुनावी प्रचारमा निस्कनु कति नैतिक हो? महँगो गाडी मात्र होइन, बालेनको पहिरनसमेत सामाजिक सञ्जालमा आलोचनाको विषय बनेको छ। ‘गरिबको पीडा’लाई गीत र र्‍यापमार्फत प्रस्तुत गर्ने कलाकारको पहिचान बनाएका साहले प्रयोग गरेको एडिडास टेरेक्स ज्याकेटको मूल्य करिब ३५ हजार रुपैयाँ पर्ने उल्लेख छ। जनताको दुःख र अभावलाई राजनीतिक पूँजी बनाउने तर आफ्नै जीवनशैली विलासितामा डुबेको देखिनु बालेनको दोहोरो चरित्रको उदाहरण भएको टिप्पणी भइरहेको छ।

यस विवादको अर्को गम्भीर पाटो भने बालेनको नाम विवादित व्यापारी कमल किशोर मालपानी र ‘सेटिङ मास्टर’ भनेर चिनिने दीपक भट्टसँग जोडिनु हो। करेन्ट चाउचाउ र करेन्ट गुट्खा उत्पादन गर्ने मालपानी राजस्व छली, सुपारी तस्करी, श्रम शोषण र नागरिकता विवादका कारण लामो समयदेखि विवादमा छन्। भारतीय नागरिकका छोरा मालपानीले वंशजका आधारमा लिएको नेपाली नागरिकता नै शंकास्पद रहेको, एक जिल्लाबाट जारी भएको नागरिकताको प्रतिलिपि अर्को जिल्लाबाट नियमविपरीत निकालेको तथ्य सार्वजनिक भइसकेको छ।

यस्ता व्यक्तिसँग जोडिएको गाडी प्रयोग गर्नु सामान्य संयोग मात्र हो कि गहिरो साँठगाँठको संकेत ? झन् राज्य संयन्त्रसमेत निरीह बनेको आरोप लाग्दै आएको मालपानी समूहको ‘संरक्षक’ का रूपमा दीपक भट्टको नाम जोडिँदा प्रश्न अझ गहिरिन्छ। भट्ट स्वयं सम्पत्ति शुद्धीकरण, शंकास्पद बैंक कारोबार, जलविद्युत् ठेक्कामा चलखेल र राजनीतिक पहुँच दुरुपयोगका आरोपमा पटक–पटक विवादमा तानिएका व्यक्ति हुन्। भट्ट कांग्रेस ,एमाले,माओवादी   शासनसत्ता हुँदै भ्रष्ट्राचारको साम्राज्य जमाउन बिचौलियाको भूमिकामा देखिएका विवादले चर्चामा आएका व्यापारी हुन् । उनी अहिले बालेनको समुहमा मिसिएका छन् । बालेनको मात्र होइन,रास्वपासँग पनि नजिक भएको स्रोतले जनानएको छ ।

यही विवादित पात्रहरूसँग नजिकिएको देखिनु बालेनको ‘स्वतन्त्र’ र ‘भ्रष्टाचारविरोधी’ राजनीतिक ब्रान्डका लागि गम्भीर धक्का हो। के बालेन साँच्चै वैकल्पिक राजनीतिका प्रतीक हुन्, कि पुरानै शक्ति संरचनाका नयाँ अनुहार मात्र ? जनताले अब गीत, भाषण र आक्रोश होइन, आचरण र पारदर्शिता खोजिरहेका छन्। महँगो गाडी, विलासी जीवनशैली र विवादित व्यापारीसँगको सम्बन्धले बालेनको राजनीतिक यात्रालाई प्रश्नको घेरामा राखेको छ— जसको जवाफ अब उनले आफैं जनतालाई दिनुपर्नेछ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *