काठमाडौं — प्रतिनिधिसभा निर्वाचनको सरगर्मी बढ्दै जाँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार जगदीश खरेल निर्वाचन आचारसंहिता उल्लङ्घनको आरोपमा निर्वाचन आयोगको निगरानीमा परेका छन्। ललितपुर क्षेत्र नम्बर–२ बाट उम्मेदवारी दिएका खरेलसँग आयोगले औपचारिक रूपमा स्पष्टीकरण माग गरेको हो।
निर्वाचन आयोगका अनुसार खरेलले निर्वाचन आचारसंहिता, २०८२ को दफा १३ को उपदफा (१०) अन्तर्गतका खण्ड (ढ) र (ण) विपरीत गतिविधि गरेको देखिने श्रव्य–दृश्य सामग्रीसहित उजुरी दर्ता भएको छ। उक्त उजुरी २०८२ साल माघ ६ गते आयोगमा दर्ता भएको जनाइएको छ।
२५ जनाभन्दा बढी जुलुसको प्रश्न
आयोगले पठाएको पत्रमा खरेललाई मनोनयन दर्ताका क्रममा दलको झण्डा प्रयोग गर्दै आचारसंहिताले तोकेको सीमाभन्दा बढी—२५ जनाभन्दा धेरै व्यक्तिको जुलुससहित सहभागी भएको हो वा होइन भन्ने विषयमा स्पष्ट जवाफ मागिएको छ। यदि सो कार्य गरेको पुष्टि भएमा किन निर्वाचन आचारसंहिता तथा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही नहुने भन्ने आधारसमेत प्रस्तुत गर्न आयोगले निर्देशन दिएको छ। आयोगले तीन दिनभित्र स्वयं वा आफ्नो प्रतिनिधिमार्फत उपस्थित भई लिखित स्पष्टीकरण पेश गर्न आग्रह गरेको छ।निर्वाचन आयोगले निर्वाचन प्रक्रिया स्वच्छ, निष्पक्ष र मर्यादित बनाउन आचारसंहिताको कडाइका साथ कार्यान्वयन गरिँदै आएको स्पष्ट पारेको छ। उम्मेदवार, दल र समर्थक सबैलाई कानुनी सीमाभित्र रहेर प्रचार–प्रसार गर्न आयोगले पटक–पटक सचेत गराउँदै आएको छ।
खरेल पछिल्लो समय केवल आचारसंहिता विवादमै सीमित छैनन्। केही दिनअघि उनीमाथि आक्रमणसमेत भएको थियो। ‘जेनजी आन्दोलन’को समर्थनमा बनेको सरकारमा मन्त्री बनेका खरेललाई अहिले अवसरवादको आरोप लगाउँदै निर्वाचनमा होमिएको भन्दै आक्रोश व्यक्त गरिएको थियो। स्थानीय नेता तथा कार्यकर्ताहरूले विगतमा उक्त निर्वाचन क्षेत्रमा खरेलको ठोस योगदान नरहेको आरोप लगाउँदै विरोध प्रदर्शनका क्रममा आक्रमण भएको बताइएको छ।
आचारसंहिता उल्लङ्घनको आरोप, राजनीतिक असन्तुष्टि र सुरक्षासम्बन्धी घटनाले खरेलको चुनावी यात्रालाई थप चुनौतीपूर्ण बनाएको देखिन्छ। अब आयोगलाई दिइने स्पष्टीकरण र त्यसपछि हुने निर्णयले यो प्रकरण कुन मोड लिन्छ भन्नेमा सबैको चासो केन्द्रित भएको छ।




