कैलाली । कैलाली–१ बाट उम्मेदवार रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) नेपालका संरक्षक रेशम चौधरीको उम्मेदवारी खारेज भएको छ ।
उनीविरुद्ध परेको उजुरीमाथि छानबिन गर्दै निर्वाचन अधिकृतको कार्यालयले चौधरीको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको हो । निर्वाचन अधिकृत देवराज भारतीद्वारा जारी निर्णय आदेशमा जन्मकैदको सजाय पाएका चौधरीलाई राष्ट्रपतिबाट आममाफी दिइएको देखिए पनि त्यसले अदालतको फैसला बदर नहुने स्पष्ट गरिएको छ ।
निर्णयमा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ को उपदफा (१०) अनुसार राष्ट्रपतिबाट माफी भएको कारणले अदालतको फैसला स्वतः बदर नहुने उल्लेख गरिएको छ । साथै, निर्वाचन आयोगको मिति २०८०/११/२४ गतेको निर्णयअनुसार रेशमलाल चौधरी राजनीतिक दलको सदस्य बन्नसमेत अयोग्य ठहर भएको उल्लेख छ ।
चौधरीविरुद्ध २०७२ भदौ ७ गते भएको टीकापुर हत्याकाण्डका मुख्य योजनाकारका रूपमा मुद्दा दायर भएको थियो । कैलाली जिल्ला अदालतले २०७५ फागुन २२ गते उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाएको थियो ।
कैद भुक्तानीका क्रममा उनी कारागार कार्यालय डिल्लीबजारमा थुनामा रहेका थिए । सरकारले १५ वर्ष कैद माफीका लागि गरेको सिफारिसअनुसार गणतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट आममाफी पाएपछि उनी २०८० जेठ १५ गते रिहा भएका थिए । संविधानको धारा २७६ तथा मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५९ अनुसार उनी रिहा भएका हुन् ।






