देश

झापा–५ मा ‘आईटी वार’ को छायाँ र बालेनको चुनावी प्रयोगशाला !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा झापा–५ को चुनाव केवल मतदाता, एजेन्डा र संगठनको प्रतिस्पर्धामा सीमित देखिँदैन । यो निर्वाचन प्रविधि, कृत्रिम बुद्धिमत्ता (एआई) र सामाजिक सञ्जालद्वारा निर्देशित ‘डिजिटल युद्ध’ को परीक्षणस्थल बन्दै गएको संकेत स्पष्ट देखिन थालेको छ । यही युद्धको केन्द्रमा छन्—काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह ९बालेन० ।

झापा–५ मा बालेनको चुनावी तयारी हेर्दा यो सामान्य निर्वाचन अभियानभन्दा फरक देखिन्छ । दमकस्थित रास्वपा नेता लक्की सिटौलाको घरलाई मुख्य सचिवालय बनाएर तीन तहको ‘थ्री–लेयर’ संरचना खडा गरिएको स्रोतको दाबी छ । यहाँ राजनीति भन्दा बढी प्रविधि बोलिरहेको छ । पहिलो घर पूर्ण डिजिटल ‘वार रुम’ जस्तै छ—१५ जनाको आईटी विज्ञ र कन्टेन्ट क्रियटरको टोली, सामाजिक सञ्जाल प्रयोगकर्ताको मनोविज्ञान विश्लेषण, रियल–टाइम भिडियो सन्देश उत्पादन र वितरण । दोस्रो घर स्वयं बालेनको आवास, जहाँ रणनीतिक निर्णय र राजनीतिक भेटघाट हुन्छ । तेस्रो घर भने मतदाता सर्वे, क्लस्टर विश्लेषण र गोप्य अपरेसन कार्यान्वयनको केन्द्र ।

प्रश्न उठ्छ—यो निर्वाचन हो कि डेटा–ड्रिभन सामाजिक प्रयोगर ?

विगतमा समय निर्वाचनका समयमा विकासका एजेण्डका विषयमा छलफल र बहस हुन्थ्यो तर जेनजी आन्दोलनपछि विकासका एजेण्डा र पारदर्शीता स्वाधीनता र राष्ट्रिय एकतामा भन्दा बढि पछिल्लो समय सो एजेन्डा हराउँदै, एल्गोरिदम हावी भएको विश्लेष जारी छ । सो कुरा प्रष्टै देखिन्छ । सामाजिक संजालप्रयोग कर्ताहरु सो गतिविधिदेखेर कतिपय विज्ञहरु पागलहरुको संसार भएको जस्तो चित्रण समेत गर्छन् । यस अभियानको मूल आत्मा सामाजिक सञ्जाल हो । युट्युब, फेसबुक, टिकटकमा ‘हुक लाइन’, आकर्षक एडिटिङ र भावनात्मक सन्देशमार्फत मतदाता तान्ने रणनीति प्राथमिकतामा छ । यहाँ विकास, अर्थतन्त्र वा स्थानीय समस्या भन्दा ‘भाइरल कन्टेन्ट’ निर्णायक बन्न खोजेको देखिन्छ ।

यसले लोकतान्त्रिक बहसलाई गहिरो बनाउनेभन्दा सतही बनाइरहेको आलोचना बढ्दै गएको छ । राप्रपा नेता राजेन्द्र लिङदेनको टिप्पणी—“रिल, स्टाटस र ट्रेन्डको भरमा विवेक विना खन्याइएको मतले परिवर्तन होइन, राजनीतिक दुर्घटना निम्त्याउँछ”—यही चिन्ताको प्रतिविम्ब हो ।झापा–५ बाट छ पटकसम्म लगातार निर्वाचित भइसकेका ओलीले बालेनको राजनीतिक योगदानमाथि नै प्रश्न उठाएका छन्। सोही क्षेत्रबाट पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली उम्मेदवार छन् । उनले लोकतन्त्र स्थापना, विकास र बलिदानका सन्दर्भमा बालेनको कुनै ठोस इतिहास नभएको दाबी गर्दै उनले काठमाडौंमा सुकुम्बासी बस्तीमाथि डोजर चलाएको बाहेक उल्लेखनीय काम देखिन नसकेको टिप्पणी गरे। “खोला किनारमा बस्न नदिने, सुकुम्बासीलाई आतंकित बनाउने काम बाहेक अरू के योगदान छ ?” ओलीको प्रश्न छ। जेन–जी आन्दोलनपछि प्रधानमन्त्री ओलीलाई हराउने उद्घोष गर्दै बालेनले मेयर पदबाट राजीनामा दिएर झापा–५ रोजेपछि यो क्षेत्र राष्ट्रिय राजनीतिमा चासोको केन्द्र बनेको छ। एकातिर तीन वर्षअघि मात्र मेयर बनेर उदाएका बालेन, अर्कोतिर २०६४ बाहेक सबै निर्वाचन जितेका ओलीबीचको भिडन्तलाई पुस्तान्तरण बनाम अनुभवी नेतृत्वको संघर्षका रूपमा हेरिएको छ।

ओलीले पूर्वाधार, सडक, डिजिटल नेपाल, फोरजी विस्तार, आर्थिक वृद्धिदर वृद्धि र औद्योगिक विकासलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार देश अप्ठ्यारो अवस्थामा हुँदा नेतृत्व सम्हालेर अर्थतन्त्रलाई उकासिएको थियो। “देश चलाएर आएको मान्छे हुँ, रिसर्च, डेटा र विश्लेषण के हो भन्ने थाहा नभएको होइन,” ओलीको भनाइ छ। सुरक्षा चुनौतीको सन्दर्भमा पनि ओली आक्रामक देखिए। जेन–जी आन्दोलनका बेला हिंसा भड्किएको, बालबालिकालाई प्रयोग गरिएको र योजनाबद्ध आगजनी भएको दाबी गर्दै उनले त्यसको दोष सरकारमाथि थोपर्ने प्रयास अनुचित भएको बताए। “प्रधानमन्त्रीले गोली चलाउन आदेश दिन्छ भन्ने कुरा हास्यास्पद हो,” ओलीले भने। अध्यक्ष ओलीले सामाजिक संजालको दुरुपयोग गरेर भिड जम्मा गरेर लोकतान्त्रिक शक्तिमाथि दबाब दिन खोज्नु अवसवादको चरम अवस्था रहेको उल्लेख गरिसकेका छन् । त्यस्ता गतिविधिका कारण मुलुकमा अपराजन्य घटना बढ्ने भन्दै सबैलाई सचेत र सभ्य हुन आग्रह गरेका छन् ।

 

एआईस् प्रचारको नयाँ हतियार, भ्रमको पुरानो जोखिम

झापा–५ मात्र होइन, समग्र निर्वाचनमा एआईद्वारा बनाइएका भिडियो, फोटो र अडियो सामग्री बाढीजस्तै फैलिँदैछन् । जनार्दन शर्मा, केपी शर्मा ओली, बालेन शाह लगायत नेताहरूलाई लक्षित ‘डिपफेक’ सामग्री सामाजिक सञ्जालमा सहजै भेटिन्छ । महाभारत शैलीको ओली–बालेन युद्धदेखि मदिरा पिएको झल्को दिने तस्बिरसम्म—यी सबै एआई निर्मित हुन्, तर धेरैले वास्तविक ठानिरहेका छन् । यो अवस्था खतरनाक छ । किनकि यहाँ केवल प्रचार होइन, चरित्र हत्या, गलत भाष्य निर्माण र मतदाताको विवेकमाथि आक्रमण भइरहेको छ ।

निर्वाचन आयोग : नियमन पछाडि, प्रविधि अगाडि

निर्वाचन आयोगले आचारसंहितामा एआई प्रयोग गरी भ्रामक सूचना फैलाउन नपाइने स्पष्ट लेखे पनि व्यवहारमा नियमन कमजोर देखिन्छ । आयोगले एआई सफ्टवेयर प्रयोग गरेर सामाजिक सञ्जाल अनुगमन गर्ने दाबी गरे पनि कन्टेन्टको मात्रा र गति अगाडि त्यो प्रयास अपूरो देखिन्छ । साइबर सुरक्षा विज्ञहरू ‘फोर डी’ जोखिम—डिसइन्फर्मेसन, डिपफेक, डाटा चोरी र सिस्टम अट्याक—लाई गम्भीर चुनौतीका रूपमा चित्रण गर्छन् । अझ खतरनाक पक्ष भनेको ‘ट्रस्ट ब्रिच’ हो—चुनाव प्रक्रियाप्रति नै नागरिकको विश्वास कमजोर हुनु ।

बालेन रणनीतिस : जित कि नजीर ?

बालेनको झापा–५ अभियानले एउटा नयाँ नजीर त बनाएको छ—प्रविधि प्रयोग गरेर छोटो समयमा ठूलो प्रभाव । तर यसले अर्को गम्भीर प्रश्न पनि उठाएको छ—यदि चुनाव जित्ने मापदण्ड एआई कन्टेन्ट, एल्गोरिदम र भावनात्मक हेरफेर बन्यो भने लोकतन्त्रको सार कहाँ रहन्छरु आज झापा–५ मा प्रयोग भइरहेको ‘आईटी वार’ भोलि देशभर फैलिन सक्छ । त्यसबेला चुनाव विचारको होइन, कन्टेन्टको नीति होइन, ट्रेन्डको मतदाताको विवेक होइन, एल्गोरिदमको जित हुनेछ ।

झापा–५ को चुनाव केवल एक क्षेत्रको प्रतिस्पर्धा होइन । यो एआई र सामाजिक सञ्जालले नेपाली निर्वाचनलाई कुन दिशातर्फ धकेल्दैछ भन्ने संकेत पनि हो । यदि समयमै नियमन, तथ्य–जाँच र जनचेतना बढाइएन भने, डिजिटल प्रचारको यो उछालले लोकतन्त्रलाई नवप्रविधिको नाममा खोक्रो बनाउने खतरा स्पष्ट देखिन्छ । चुनाव जित्न प्रविधि प्रयोग गर्नु अपराध होइन । तर प्रविधिले चुनावलाई नै हाइज्याक गर्न थाल्यो भने—त्यो जित होइन, लोकतान्त्रिक हार हुनेछ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *