अर्थ

निर्वाचनको माहोलबीच महोत्तरीमा किसानलाई खेतीपातीको चटारो

महोत्तरी। मुलुकमा प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल बढ्दै गए पनि महोत्तरीका किसान भने खेतीपातीमै व्यस्त छन् । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि मङ्गलबार उम्मेदवारले मनोनयनपत्र दर्ता गराइसकेका छन् ।

निर्वाचनका कार्यक्रम पर्वजस्तै देखिए पनि यहाँका किसानलाई भने खेतीबाली नै प्राथमिकता बनेको छ । वसन्तपञ्चमी (श्रीपञ्चमी) का लागि केशोर खनेर बजार पुर्‍याउने, उखु काटेर चिनी उद्योग लैजाने र वैशाखी तरकारी लगाउने समय एकैसाथ परेकाले किसानलाई भ्याइनभ्याइ छ ।

महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा वसन्तपञ्चमीका दिन गरिने सरस्वती पूजनमा केशोर मुख्य प्रसाद मानिन्छ । केशोर खेती हुने बर्दिबास, गौशाला र भङ्गाहा क्षेत्रका किसान अहिले दिनरात केशोर खन्ने र बजार पुर्‍याउने काममा लागिरहेका छन् ।

बर्दिबास–७ मनहरिपुरका किसान निरबहादुर खत्री भन्नुहुन्छ, “केशोरको सिजन यही हो, यसबेला बेच्न नसकेपछि राम्रो भाउ पाइँदैन । चुनाव लागेको सुनेको छु, तर अहिले खेतीको चटारोले फुर्सद छैन ।”

श्रीपञ्चमी पर्व यसपालि शुक्रबार परेकाले बिहीबारभित्रै केशोर बजार पुर्‍याइसक्नुपर्ने बाध्यता रहेको बर्दिबास–९ पशुपतिनगरका किसान भोला महतो बताउनुहुन्छ । मनहरिपुरकै ७० वर्षीय किसान विन्देश्वर यादव पनि केशोर खन्ने र बेच्ने काममै व्यस्त हुनुहुन्छ । उहाँका अनुसार यहाँको केशोर वसन्तपञ्चमीका अवसरमा पूर्वको मेचीपारिसम्म पुग्ने गरेको छ ।

यसैगरी उखु किसान पनि अहिले उखु काट्ने र नयाँ उखु रोप्ने काममा लागेका छन् । गौशाला–१० का किसान अरुण कुशवाहा भन्नुहुन्छ, “अब ढिलो भयो भने उखु खेतमै सुक्छ । यसैबेला नयाँ उखु रोप्न पनि ढिलो गर्न हुँदैन ।”

केशोर र उखुजस्तै वैशाखी तरकारी लगाउने समय भएकाले जिल्लाका सबै भेगका किसान खेतीमै केन्द्रित छन् । किसान व्यस्त भएकाले उम्मेदवारी दर्ताजस्ता कार्यक्रममा अपेक्षित सहभागिता नभएको राजनीतिक दलका नेताहरू स्वीकार गर्छन् ।

भङ्गाहा–९ का नेपाली कांग्रेसका स्थानीय नेता सुरेश यादव भन्नुहुन्छ, “किसान अहिले खेतीपातीमा व्यस्त छन्, काम सकेपछि मात्र चुनावी अभियानमा जोडिने देखिन्छ ।”

किसानहरूले भने तीनै तहका सरकार कृषि क्षेत्रप्रति उदासीन भएकाले निर्वाचनप्रति खासै उत्साह नरहेको बताएका छन् । अधिकांश नेपालीको मुख्य पेसा कृषि भएकाले यसपटकको निर्वाचनमा कृषि क्षेत्रका ठोस प्रतिबद्धता आउनुपर्ने उनीहरूको माग छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *