राजनीति

एमाले सचिव महेश बस्नेतको टिप्पणीः रवि लामिछानेका नैतिकता र सुशासनका ठूला भाषण,व्यवहारिकतामा कालो दाग

काठमाडौं । नेकपा (एमाले) का सचिव तथा भक्तपुर–२ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दर्ता गरेका महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको सहकारी ठगी प्रकरणलाई लिएर चर्को टिप्पणी गरेका छन्। बस्नेतले भनेका छन् कि “नैतिकता र सुशासनका ठूलो भाषण गर्नेहरू उम्मेदवारी मनोनयनकै दिन सहकारी ठगी प्रकरणमा १ करोड धरौटी बुझाउन बाध्य हुनु—यो भन्दा ठूलो बिडम्बना अरू के हुन सक्छ?” पर्सा जिल्ला अदालतले लामिछानेसँग सानो पाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा १ करोड रुपैयाँ धरौटी मागेको छ । गत असारमा वीरगन्जस्थित सो सहकारी संस्थामा रकम अपचलन भएको आरोपमा लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो।

बस्नेतले थपे, “ठगी र अपराधको आरोपले पछ्याएको नियतिले देश हाक्ने, व्यवस्था बदल्ने र नैतिकताको पाठ पढाउने ठूला कुरा गर्नुको सन्देश दिन्छ।”रवि लामिछानेको धरौटी विवाद यो मात्रै होइन। उनलाई कास्कीको सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा ६० लाख र चितवनको सहारा सहकारीमा ५४ लाख धरौटी बुझाउन आदेश जारी गरिएको छ। यससँगै पर्साको सानोपाइला बचत सहकारी प्रकरणमा पनि उनीमाथि अनुसन्धान भइरहेको छ।

अदालतले प्रतिवादी विदेश भाग्न नसक्ने र गम्भीर किसिमको कसुर नभएको अवस्थामा धरौटी माग गर्ने गर्छ। नेपालमा अदालतले तोकेको धरौटी नगद वा बैंक ग्यारेन्टीबाट बुझाउन सकिने व्यवस्था छ। यसरी रकम सुरक्षित भएपछि अदालतले बिगो वा जरिवाना असुल गर्ने गर्दछ। बस्नेतको टिप्पणीले सहकारी ठगी प्रकरण र चुनावी उम्मेदवारीको बिचमा देखिएको विरोधाभासलाई उजागर गरेको छ, जसले आगामी निर्वाचनलाई पनि थप राजनीतिक चर्चाको विषय बनाएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *