काठमाडौं । नेपाली कांग्रेसभित्र देखिएको पछिल्लो आन्तरिक विवादको केन्द्रमा महामन्त्री गगनकुमार थापा पुनः परेका छन्। सार्वजनिक रूपमा चुनाव नलड्ने संकेत दिँदै आएका थापा सर्लाहीबाट प्रतिनिधिसभा उम्मेदवारका रूपमा सिफारिस भएपछि उनको राजनीतिक अडान र अभिव्यक्तिमाथि गम्भीर प्रश्न उठ्न थालेको छ।
जेनजी आन्दोलनपछि पार्टीको जिम्मेवारीपूर्ण भूमिकामा पुगेका नेताहरू नै कांग्रेसलाई बारम्बार विवादमा तान्ने खेलमा सक्रिय देखिएको टिप्पणी पार्टीभित्र हुन थालेको छ। विशेषगरी गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री बद्री पाण्डे नेतृत्व परिवर्तन नगरी निर्वाचनमा जान नहुने अडानमा अडिग रहँदा पार्टीभित्रको तनाव झनै चुलिएको छ।
कांग्रेसभित्र नयाँ सक्रिय सदस्यता वितरण र नवीकरण समयमै हुन नसक्दा विवादको बीजारोपण भएको संस्थापन पक्षको बुझाइ छ। नक्कली सदस्यता फाराम फेला परेपछि सभापति शेरबहादुर देउवाले पुनः नयाँ क्रियाशील सदस्यता वितरण गर्न निर्देशन दिएका थिए। तर सबै तहको सदस्यता नवीकरण समयमा सम्पन्न हुन नसकेपछि महामन्त्री थापाले तीन तहको मात्र महाधिवेशन गर्ने प्रस्ताव अघि सारे, जसले पार्टीभित्र अर्को विवाद जन्माएको छ।
आगामी प्रतिनिधिसभा निर्वाचन, १५औँ महाधिवेशन र नेतृत्वको भूमिकालाई लिएर महामन्त्रीहरूकै कारण पार्टीभित्र आन्तरिक तनाव थपिएको स्रोतको दाबी छ। नाटकीय शैलीमा नेतृत्व परिवर्तनको बहस चर्काउने र पछि स्वयं चुनावी मैदानबाट पछि हट्ने संकेत गर्नुको उद्देश्य के हो भन्ने प्रश्न अहिले कांग्रेस वृत्तमा व्यापक रूपमा उठिरहेको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा पाटीको कारबाहीमा गगन थापा, विश्वप्रकाश शर्मा परेका छन् । तर विशेष महाधिवेशनलाई निर्वाचन आयोगले मान्यता दिएपछि अहिले कांग्रेसको मुद्धा सर्वोच्च अदालतमा छ । अदालतमा मुद्धा दायर भएकै समयमा निर्वाचनका लागि आयोगले मान्यता दिएको सभापति गगनले हस्ताक्षर गरेर टिकट वितरण गरेपछि अवैधानिक टिकट वितरण भएको भन्दै प्रश्न चिह्न खडा भएको छ ।
थापाले भने नेतृत्व परिवर्तन नभए आफू पनि उम्मेदवार नबन्ने चेतावनी केन्द्रीय कार्यसम्पादन समिति बैठकमै दिएका थिए। कांग्रेसभित्र देखिने अधिकांश विवादको केन्द्र थापाकै गतिविधि रहेको आरोपसमेत संस्थापन नेताहरूले गर्न थालेका छन्।
स्वास्थ्य उपचारपछि सक्रिय राजनीतिमा फर्किएका सभापति शेरबहादुर देउवाले पुनः पार्टीको शक्ति सन्तुलन आफ्नो पक्षमा फर्काउँदै लगेपछि महामन्त्रीहरू नेतृत्वलाई कमजोर बनाउने रणनीतिमा लागेको संस्थापन पक्षको ठहर छ। देउवाको अनुपस्थितिमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा बसेका केन्द्रीय समिति बैठकहरू निष्कर्षविहीन बनेका थिए। तर देउवा फर्किएपछि महाधिवेशनको समयसीमा, दल दर्ता र सदस्यता विवादमा निर्णायक कदम चालिएको कांग्रेस वृत्तको बुझाइ छ।
यद्यपि, सक्रिय सदस्यता वितरणमा देखिएका प्राविधिक र व्यवस्थापकीय समस्याले १५औँ महाधिवेशन तोकिएको समयमा हुन नसक्ने अवस्था बनेको छ। सक्रिय सदस्यता व्यवस्थापनको मुख्य जिम्मेवारी महामन्त्री थापाकै काँधमा रहेकाले यो विषय थप राजनीतिक रूपमा संवेदनशील बनेको छ।
अर्कोतर्फ, विशेष महाधिवेशन विवादमा निर्वाचन आयोगले वैधाता दिएका सभापति गगनकुमार थापा सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन्। कांग्रेस सर्लाहीका अनुसार क्षेत्रीय समिति बैठकले थापाको नाम प्रत्यक्षतर्फ सिफारिस गरेको हो। थापासँगै मधेस प्रदेशसभा सदस्य वीरन्द्रप्रसाद सिंह पनि सोही क्षेत्रबाट सिफारिस भएका छन्।
चाखलाग्दो कुरा के छ भने, चार दिनअघि मात्रै सर्लाही सदरमुकाम मलंगवा पुगेका बेला थापाले आफू यसपटक पनि काठमाडौंबाटै चुनाव लड्ने बताएका थिए। तर अहिले सर्लाहीबाट उम्मेदवार सिफारिस भएपछि उनको अभिव्यक्तिमा विरोधाभास देखिएको टिप्पणी हुन थालेको छ।
२०७९ सालको निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ४ बाट स्वतन्त्र उम्मेदवार अमरेशकुमार सिंह निर्वाचित भएका थिए। उनले २० हजार १७ मत प्राप्त गर्दा कांग्रेस उम्मेदवार नागेन्द्रकुमार रायले १८ हजार २५३ मत ल्याएका थिए।
चुनाव नलड्ने अभिव्यक्ति र विभिन्न क्षेत्रबाट उम्मेदवार सिफारिस— यी दुई परस्परविरोधी घटनाक्रमले महामन्त्री गगन थापाको राजनीतिक भूमिकालाई लिएर कांग्रेसभित्र “दोहोरो चरित्र” को बहसलाई थप तीव्र बनाएको छ।




