काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले अवैधानिक प्रक्रियाबाट निर्वाचित कार्यसमितिको निर्णय र हस्ताक्षरबाट जारी गरिएको टिकट अस्वीकार्य हुने स्पष्ट पारेका छन्। यही कारण देखाउँदै उनले आसन्न प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवार नबन्ने निर्णय गरेको बताएका छन्।
खड्काले विशेष महाधिवेशन नै विधानविपरीत भएको दाबी गर्दै त्यसबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने आफ्नो अडान दोहोर्याएका छन्। मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले त्यस्ता निर्णय र हस्ताक्षरबाट उम्मेदवार बन्नु आफ्नो दीर्घकालीन राजनीतिक मूल्य, सिद्धान्त र नैतिकतासँग मेल नखाने बताए।
उनका अनुसार विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै आफू नेतृत्वमा सर्वोच्च अदालतमा मुद्दा दायर भइसकेकाले सभापति गगन थापा नेतृत्वको वर्तमान कार्यसमितिलाई आधिकारिक रूपमा स्वीकार गर्न सकिने अवस्था रहेको छैन् ।
आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिने निर्णयले समर्थक तथा मतदातालाई निराश नबनाओस् भन्दै खड्काले धैर्य र समझदारी देखाउन आग्रह गरेका छन्। साथै उनले पार्टीको चुनाव चिन्ह रुख लिएर मैदानमा उत्रिने उम्मेदवारलाई सहयोग गर्नसमेत सबैलाई अपिल गरेका छन्।
खड्काको यो निर्णयलाई कांग्रेसभित्र चलिरहेको आधिकारिकता विवादको निरन्तरता र राजनीतिक नैतिकताको उदाहरणका रूपमा हेरिएको छ। पार्टीभित्रको कानुनी र संस्थागत संघर्षबीच आएको उनको अभिव्यक्तिले कांग्रेसको आन्तरिक राजनीतिलाई थप तरंगित बनाउने देखिएको छ।




