का मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिश सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् । साथै उनले आफू जनमत पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट अलग भएको घोषणा गरेका छन् ।
सिंहले विधिवत रूपमा प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको जानकारी दिँदै अब नयाँ राजनीतिक यात्रातर्फ अघि बढ्ने संकेत गरेका छन् । प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुन उनले छुट्टै दल दर्ता गराइसकेका छन् ।
सिंहले आफ्ना दाइ सत्यवानकुमार सिंहको नेतृत्वमा ‘स्वाभिमान पार्टी’ दर्ता गराएका हुन् । सोही पार्टीबाट उनी आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् ।
उनी २०७९ सालको प्रदेशसभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (क) बाट जनमत पार्टीको तर्फबाट निर्वाचित भएका थिए । जनमत पार्टीले उनलाई मधेश प्रदेशसभाको अर्थ समितिको सभापति बनाएको थियो भने पछि मुख्यमन्त्रीको जिम्मेवारीसमेत दिएको थियो ।
तर जेनजी आन्दोलनको क्रममा जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा. सीके राउतको निर्देशनमा सामाजिक सञ्जालमार्फत राजीनामा घोषणा गरेपछि उनको राजनीतिक यात्रा विवादमा तानिएको थियो । पछि निर्णय फेरे पनि पार्टीले समर्थन फिर्ता लिएसँगै उनी जनमत पार्टीभित्र अलग थलग परेका थिए ।
यसअघि सिंह २०७४ देखि २०७९ सम्म सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षका रूपमा कार्यरत थिए । ४३ वर्षीय सिंह तिलाठी कोइलाडी गाउँपालिका–४ तिलाठीका स्थायी बासिन्दा हुन् ।




