सोमबार सुनचाँदीको भाउले फेरि नयाँ उचाइ छोएको छ । एकैदिन उल्लेख्य वृद्धि भएपछि सुन र चाँदी दुवैको मूल्य ऐतिहासिक रेकर्ड नजिक पुगेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य प्रतितोला ४ हजार २ सय रुपैयाँले बढेर २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुन प्रतितोला २ लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसअघि गत बुधबार सुनको मूल्यले प्रतितोला २ लाख ७८ हजार रुपैयाँको रेकर्ड बनाएको थियो । सोमबारको मूल्य वृद्धिसँगै त्यो रेकर्ड पनि तोडिएको छ ।
चाँदीको भाउ पनि उकालो लागेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ६२५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १८५ रुपैयाँले बढेर ५ हजार ८१० रुपैयाँ पुगेको छ । यद्यपि चाँदीले यसअघि गत बुधबार प्रतितोला ६ हजार ६५५ रुपैयाँको उच्च रेकर्ड बनाइसकेको थियो ।
अन्तर्राष्ट्रिय बजारको प्रभाव, लगानीकर्ताको आकर्षण र स्थानीय मागका कारण सुनचाँदीको मूल्य निरन्तर बढ्दो क्रममा रहेको व्यवसायीहरूको भनाइ छ । मूल्य वृद्धिले गहना खरिद गर्ने उपभोक्ता भने थप दबाबमा परेका छन् ।




