देश

आठ डीआईजीको सरुवा, बागमतीदेखि कर्णालीसम्म प्रहरी नेतृत्वमा फेरबदल

काठमाडौं । नेपाल प्रहरीमा उच्च तहको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले एकैपटक आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को सरुवा गर्दा चार वटा प्रदेशका प्रहरी प्रमुख परिवर्तन भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश प्रहरी कार्यालयका नेतृत्वमा नयाँ जिम्मेवारी तोकिएको हो । सरुवासँगै प्रदेशस्तरको प्रहरी कमाण्डमा पुनर्संरचना गरिएको छ ।

सरुवा सूचीअनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाजिम्पाटमा कार्यरत डीआईजी भूपेन्द्रबहादुर खत्रीलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय, तुल्सीपुर (दाङ) पठाइएको छ । त्यस्तै कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा कार्यरत डीआईजी माधवप्रसाद श्रेष्ठलाई सीआईबी लाजिम्पाटमा सरुवा गरिएको छ ।

यसैगरी लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेन्द्रप्रसाद भट्टलाई नेपाल प्रहरी प्रधान कार्यालयको अन्वेषण, योजना तथा विकास निर्देशनालय, नक्सालमा जिम्मेवारी दिइएको छ । बागमती प्रदेश प्रहरी प्रमुख डीआईजी अरुण पौडेललाई कार्य विभाग अन्तर्गत कार्य निर्देशनालय, नक्सालमा तानिएको छ ।

गण्डकी प्रदेश प्रहरी प्रमुख रहेका डीआईजी दिनेशकुमार आचार्यलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा सरुवा गरिएको छ ।
नेपाल प्रहरीका अनुसार संगठनात्मक आवश्यकता र कार्यक्षमता अभिवृद्धिलाई ध्यानमा राखी सरुवा गरिएको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *