देश

जेनजी आन्दोलनका नाइके सुदन र बालेनले हल्लाए रास्वपा घण्टीको रालो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र पछिल्लो समय देखिएको हलचल सामान्य राजनीतिक गतिविधिभन्दा धेरै टाढा देखिन थालेको छ । पार्टी सभापति रवि लामिछाने र काठमाडौं महानगरका पूर्वमेयर बालेन साहको सक्रियताले रास्वपाको ‘घण्टी’ झनै ठूलो स्वरमा बजाइए पनि त्यसको ध्वनि आशाभन्दा विवादतर्फ बढी उन्मुख देखिएको छ ।

१६ महिना कार्यकाल बाँकी छँदै प्रधानमन्त्री बन्ने आशामा मेयर पद त्यागेर रास्वपा प्रवेश गरेका बालेन साहको निर्णयमाथि चौतर्फी प्रश्न उठिरहेका छन् । राजनीतिक स्थायित्व, जनादेशको सम्मान र जिम्मेवारीप्रति गम्भीरताभन्दा व्यक्तिगत महत्वाकांक्षाले निर्णय लिइएको आरोप उनीमाथि लाग्दै आएको छ । रवि लामिछानेसँग सात बुँदे सहमति गर्दै पार्टीको ‘वरिष्ठ नेता’ बनेका बालेनले पार्टीलाई सुदृढ बनाउनेभन्दा पनि जेनजी आन्दोलनको भावनात्मक ऊर्जा उपयोग गरेर आफ्नो शक्ति विस्तार गर्न खोजेको विश्लेषण भइरहेको छ ।

यसै क्रममा ‘हामी नेपाल’ एनजिओका संस्थापक सुदन गुरुङ पनि रास्वपामा प्रवेश गरेका छन् । गोर्खा–१ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका सुदन र रास्वपाबीच चुनावी तालमेलको सहमतिपछि उनको पार्टी प्रवेशलाई अवसरवादी राजनीतिक कदमका रूपमा हेरिएको छ । विश्लेषकहरूका अनुसार सुदन आफैं स्पष्ट वैचारिक धरातलमा उभिन नसकेको अवस्थामा बालेनको प्रभावमा निर्णय गर्न बाध्य देखिन्छन् ।

जेनजी आन्दोलनपछि सुदन–बालेन जोडीको भूमिका झनै विवादास्पद बनेको छ । सरकारी स्रोतहरूका अनुसार सुदन निर्णय प्रक्रियामा अस्थिर छन् भने बालेन दबाब र धम्कीको शैलीमा अगाडि बढ्ने प्रवृत्तिका रूपमा चिनिन थालेका छन् । “उनीहरू दुवै आवेगमा राजनीति गर्ने, संस्थागत प्रक्रियालाई कमजोर बनाउने शैलीमा देखिन्छन्,” एक उच्च अधिकारीले टिप्पणी गरे ।

गत भदौ २३ र २४ गते देशमा हिंशात्मक आन्दोलन गर्न जेनजी समुहलाई उक्साउने पनि यी नै दुबै थिए । तर उल्टै उनकै पक्षमा माहोल बनाउन जेनजीहरु नै लागि पर्नु देशलाई अराजक दिशामा परिणत गर्न सक्ने विश्लेषण हुन थालेको छ । विज्ञहरुले भने बालेन र सुदनलाई सकरात्मक दृष्टिकोणले हेर्दैन अराजकतावादी शैलीमा लागि परेका व्यक्तिका रुपमा चित्रण गर्छन् । आन्दोलनलाई उत्तेजित बनाएको आरोप खेपिरहेका बालेनले आफू सरकार निर्माणमा संलग्न रहेर सार्वजनिक अभिव्यक्ति दिनु थप आलोचनाको विषय बनेको छ । उनीमाथि हिंसा भड्काएको र अराजक गतिविधिमा संलग्न भएको भन्दै अनुसन्धानका लागि निवेदनसमेत परेका छन् । सुदनका सहकर्मीमाथि अनुसन्धान चलिरहेकै बेला उनी स्वयं आत्तिएको देखिनुले नेतृत्व क्षमतामाथि थप प्रश्न खडा भएको छ ।

भदौ २३–२४ को जेनजी आन्दोलनमा ७६ जनाको ज्यान जानु, सर्वोच्च अदालत जलाइनु,संसद भवनमा आगो लगाइनु, र सिंहदरबार जलाउनुमा यी दुबैको हात छ । उनीहरुलाई राष्ट्रिय मानवअधिकार् आयोग र छानबिनका लागि गठीत उच्चस्तरियले बयान लिइसकेको छ । दर्जनौं घाइते हुनु र सार्वजनिक संरचनामा भएको व्यापक तोडफोडले मुलुकलाई गहिरो अस्थिरतातर्फ धकेलेको विश्लेषकहरू बताउँछन् । उनीहरूका अनुसार यस्तो संवेदनशील अवस्थामा रवि–बालेन–सुदन समूहले जिम्मेवार राजनीति देखाउनुपर्नेमा उल्टै धमिलो पानीमा माछा मार्ने रणनीति अपनाइरहेका छन् । जेनजी आन्दोलनका क्रममा सहकारी ठगी प्रकरणमा थुनामा रहेका रास्वपा सभपाति रवि लामिछाने पनि प्रधानमन्त्री बन्ने भन्दै नख्खु जेलबाट भागेका थिए । तर पछि चौतर्फी आलोचनापछि जेल पुन ः फर्केका थिए । उनलाई अहिले अदालतले जेलबाहिर बसेर मुद्धा लड्न अवसर दिएको छ । तर महान्याधिवक्ताको कार्यालयले नै रवि लामिछानेमाथि दायर भएका संगठीत अपराध र सम्पति सुद्धिकरणको मुद्धा लिने अन्तिम तयारीमा लागेपछि अहिले सो विषयमा समेत चौतर्फी आलोचना भएको छ ।

राजनीतिक विश्लेषकहरूको निष्कर्ष छ— जेनजी आन्दोलनको भावनालाई सत्तारोहणको भर्‍याङ बनाउने प्रयास, अवसरवादी गठजोड र आक्रामक अभिव्यक्तिले रास्वपाको ‘घण्टी’ ठूलो स्वरमा बजे पनि त्यसले देशलाई स्थायित्व होइन, थप अनिश्चिततामात्र सुनाइरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *