काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद तीव्र बन्दै गर्दा कांग्रेस संस्थापन पक्षधर नेताहरू निर्वाचन आयोगको निर्णयविरुद्ध सडकमा उत्रिएका छन्। समुह भेला गरेर विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई पार्टीको आधिकारिकता दिएको निर्णयलाई कांग्रेस संस्थापन पक्षले अवैधानिक र पक्षपातपूर्ण ठहर गर्दै विरोधमा उत्रिएको हो।
शनिबार कांग्रेस संस्थापन पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बसेर आयोगको निर्णय अस्वीकार गर्ने घोषणा गरेको छ। बैठकले आयोगको कदम संविधान, कानून र पार्टी विधानविपरीत भएको ठहर गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको जनाएको छ।
अघिल्लो दिन, शुक्रवार आयोगको निर्णय सार्वजनिक भएलगत्तै कांग्रेस संस्थापन समूहका नेता तथा कार्यकर्ताहरू आयोग परिसरमा प्रदर्शनमा उत्रिएका थिए। उनीहरूले “पक्षपातपूर्ण निर्णय मान्दैनौँ, गगन कांग्रेस जान्दैनौँ” लगायत नाराबाजी गर्दै विरोध जनाएका थिए। गगन थापा समूह भने आयोगको निर्णय सार्वजनिक भएपछि खुशी मनाउँदै निर्वाचन प्रक्रिया अघि बढाएको थियो।
नेपाली कांग्रेसमा गत पुसमा विशेष महाधिवेशनको माग उठेपछि विवाद सुरु भएको थियो। पार्टीभित्रको ५३ प्रतिशतभन्दा बढी प्रतिनिधिको हस्ताक्षरका आधारमा आयोजित विशेष महाधिवेशनमार्फत गगन थापालाई सभापतिमा चयन गरिएको थियो।
कांग्रेस संस्थापन समूहले भने उक्त महाधिवेशनलाई पार्टी विधानविपरीत भएको दाबी गर्दै आएको छ। आयोगले पार्टी विधानको धारा अनुसार ४० प्रतिशत प्रतिनिधिको माग पूरा भएमा विशेष महाधिवेशन वैधानिक हुने आधारमा थापा समूहलाई मान्यता दिएको जनाएको छ।
राजनीतिक विश्लेषकहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा यो विवादले कांग्रेसको आन्तरिक संगठन र चुनावी रणनीतिमा प्रभाव पार्ने सम्भावना रहेको बताएका छन्।




