काठमाडौं । नेपाली कांग्रेस संस्थापन पक्षले गगन थापा र विश्व प्रकाश शर्माले आफुनिकट समुह जम्मा गरेर गरेको विशेष महाधिवेशन र निर्वाचन आयोगले सो विषयलाई दिएको वैधानिकतामाथि कडा प्रश्न उठाएको छ । निर्वाचन आयोगले गगन थापाको नेतृत्वमा नयाँ कार्यसमितिलाई वैधानिकता दिएपछि सो निर्णयविरुद्ध कांग्रेस संस्थापन पक्ष सर्वोच्च अदालत पुगेको छ ।
कांग्रेस संस्थापन समूहले उक्त महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै बदरको मागसहित रिट निवेदन दायर गरेको हो । नेपाली कांग्रेसका का.वा सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सर्वोच्च अदालत पुगेको टोलीले कानुनी प्रक्रिया अघि बढाएको अधिवक्ता लक्ष्मी दाहाल रावलले जानकारी दिइन् ।
उनका अनुसार विशेष महाधिवेशन बोलाउने प्रक्रिया र नेतृत्व चयन पार्टीको विधान र विधिसम्मत नभएकाले उक्त महाधिवेशनलाई अवैधानिक घोषणा गर्न माग गरिएको छ । हाल रिट निवेदन दर्ता प्रक्रियामा रहेको पनि उनले बताइन् ।




