देश

डा. शेखर कोइरालाको आयोगलाई प्रश्न : संस्थाको निर्णयलाई आधिकारिकता मान्ने कि व्यक्तिको अभिव्यक्ति ?

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनपछि देखिएको आन्तरिक विवाद निर्वाचन आयोगसम्म पुगेको छ। गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको दाबीपछि संस्थापन पक्षले त्यसलाई बदर गर्न माग गर्दै शुक्रबार बिहान आयोगमा निवेदन दर्ता गराएको छ। आयोग पुगेका बरिष्ठ नेता डा.शेखर कोइरालाले निर्वाचन आयोगलाई स्पष्ट सन्देश दिँदै व्यक्तिको भनाइभन्दा संस्थागत निर्णयलाई आधार बनाउन आग्रह गरे। उनले उदाहरण दिँदै प्रश्न गरे— यदि कुनै निर्वाचन आयुक्तले टुँडिखेलमा गएर “माघ ६ गते नोमिनेसन हुँदैन” भनिदिए, के त्यो निर्वाचन आयोगको आधिकारिक निर्णय मानिन्छ ?

कोइरालाका अनुसार आयोगले कुनै व्यक्तिको सार्वजनिक अभिव्यक्तिलाई होइन, विधिसम्मत संस्थागत निर्णयलाई मान्यता दिनुपर्छ। माघ ६ को सन्दर्भ उनले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनसँग जोड्दै प्रश्न उठाएका हुन्। कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित आयोग पुगेका कोइरालाले सिंगो केन्द्रीय समिति र बहुमत सदस्यहरू आफ्नो पक्षमा रहेको दाबी गरे। साथै, विशेष महाधिवेशनका पक्षमा पहिले गरिएको हस्ताक्षर फिर्ता भएको प्रमाण आफूहरूसँग सुरक्षित रहेको उनको भनाइ छ।

उनका अनुसार विशेष महाधिवेशनको समर्थनमा संकलित हस्ताक्षरहरूपछि फिर्ता गरिएको निस्सा आयोगलाई बुझाउन सकिने अवस्थामा छ। यही दाबीलाई दोहोर्‍याउँदै कार्यवाहक सभापति खड्काले पनि विशेष महाधिवेशनका लागि हस्ताक्षर गरेका मध्ये ८८५ जनाले समर्थन फिर्ता लिएको बताए। यसअघि कांग्रेसका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले गत असोज २९ गते विशेष महाधिवेशनको माग गर्दै पार्टी केन्द्रीय कार्यालयमा निवेदन बुझाएका थिए। उता, गगन थापा पक्षले भने बिहीबार मात्रै नयाँ कार्यसमितिको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा औपचारिक निवेदन दर्ता गराइसकेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *