काठमाडौं। निर्वाचन आयोगले नेपाली कांग्रेसभित्र देखिएको विवादमा आफूहरू कानुन र स्थापित प्रक्रिया बाहिर नजाने स्पष्ट संकेत दिएको छ। शुक्रबार आयोग पुगेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताहरूसँगको भेटमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग संविधान, कानुन र सम्बन्धित दलको विधानको दायराभित्र रहेर मात्रै निर्णय गर्ने बताए।
भण्डारीका अनुसार आयोगले संविधान, राजनीतिक दलसम्बन्धी ऐन तथा नियमावलीसँगै नेपाली कांग्रेसको विधान र आन्तरिक नियमलाई आधार मानेर निर्णय प्रक्रिया अघि बढाउनेछ। यसका साथै अघिल्ला नजिर र आयोगको परम्परालाई पनि ध्यानमा राखिने उनले स्पष्ट पारे।
दलभित्रको विवाद समाधानका लागि आयोगमा प्रस्तुत गरिएका प्रमाण र निवेदनहरू कानुनी मापदण्डअनुसार मात्रै मूल्याङ्कन गरिने भन्दै आयोगले सबै पक्षलाई विधि र पद्धतिमा रहन आग्रह गरेको छ।




