राजनीति

सबै एकताबद्ध भएर निर्वाचनमा लाग्न काँग्रेस १२ जिल्ला सभापतिहरुको अपिल

काठमाडौं । नेपाली कांग्रेसका १२ जना जिल्ला सभापतिहरुले पार्टीभित्र देखिएको मतभेद र बहसलाई थाती राख्दै फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा एकताबद्ध भएर लाग्न अपिल गरेका छन्। उनीहरुले वर्तमान राजनीतिक अवस्था अत्यन्त संवेदनशील रहेको भन्दै पार्टीको सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

बिहीबार जारी संयुक्त प्रेस वक्तव्यमा सभापतिहरुले प्रतिनिधिसभा विघटनपछि गठन भएको अन्तरिम सरकारले निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको स्मरण गराउँदै देश निर्वाचन प्रक्रियामा प्रवेश गरिसकेको उल्लेख गरेका छन्। यस्तो अवस्थामा पार्टीभित्र विशेष महाधिवेशनको मागलाई लिएर देखिएको मतभिन्नता बुझ्न सकिने भए पनि त्यसले पार्टी विभाजनतर्फ डोर्याउन नहुने उनीहरुको ठहर छ।

वक्तव्यमा महाधिवेशन प्रतिनिधिहरुबीच धारणा फरक–फरक रहेको उल्लेख गरिएको छ। केही प्रतिनिधिहरुले नियमित महाधिवेशन हुन नसके मात्र विशेष महाधिवेशनको माग गरेको, केहीले सिधै विशेष महाधिवेशनको पक्ष लिएको र केही तटस्थ रहेको अवस्था रहेकाले संयमता आवश्यक रहेको जनाइएको छ।

१२ जिल्ला सभापतिहरुले १५औँ नियमित महाधिवेशन २०८३ वैशाख मसान्तसम्म सम्पन्न गर्ने कार्यतालिका २०८२ पौष १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट निर्णय भइसकेको उल्लेख गर्दै महाधिवेशन प्रक्रिया निरन्तर रहेको दाबी गरेका छन्। साथै, विशेष महाधिवेशन आह्वान गर्ने वैधानिक अधिकार केन्द्रीय तहलाई मात्र रहेको र अहिले त्यस्तो उपयुक्त वातावरण समेत नरहेको उनीहरुको निष्कर्ष छ।

देशमा विकसित राजनीतिक घटनाक्रम, आसन्न निर्वाचन र राष्ट्रिय सुरक्षा जस्ता गम्भीर विषयलाई ध्यानमा राख्दै पार्टी एकतालाई पहिलो प्राथमिकतामा राख्नुपर्नेमा उनीहरुले जोड दिएका छन्। कांग्रेसले संविधानको संरक्षण र मुलुकको राजनीतिक निकासका लागि थप जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने भन्दै अन्य भेला, समारोह वा आन्तरिक विवादमा अल्झिन नहुने आग्रह गरिएको छ।

वक्तव्यको अन्त्यमा १२ जिल्ला सभापतिहरुले पार्टी नेतृत्व र कार्यकर्तालाई फागुन २१ गतेको निर्वाचनमा सक्रिय र जिम्मेवार ढंगले होमिन आह्वान गर्दै “सिंगो नेपाली कांग्रेस एकताबद्ध भएर मुलुकका चुनौती सामना गर्न अग्रसर हुनुपर्ने आजको आवश्यकता” भएको स्पष्ट पारेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *