काठमाडौं । आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनतर्फ उज्यालो नेपाल पार्टी (उनेपा) देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने तयारीमा छ। पार्टीले प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुकका लागि अनलाइन आवेदन खुला गरिसकेको छ। तर केही महत्वपूर्ण क्षेत्रहरूमा अझै योग्य उम्मेदवारको खोजी जारी रहेको छ। अध्यक्ष कुलमान घिसिङका अनुसार, पार्टी अन्य राजनीतिक शक्तिसँग एकीकरण नगरी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमको आधारमा स्वतन्त्र रूपमा अगाडि बढ्नेछ।
पार्टीका केन्द्रीय सदस्य जीतराम लामाले भने, “देशभरबाट उल्लेख्य आवेदनहरू प्राप्त भइरहेका छन्। धेरै क्षेत्रहरूमा उम्मेदवारको छनोट सम्पन्न भए पनि कतिपय जिल्लामा हाम्रो मापदण्ड अनुसार योग्य उम्मेदवारको खोजी अझै जारी छ।”
प्रदेशगत विवरणअनुसार, कोशी प्रदेशका धनकुटा–१, मोरङ–२ र उदयपुर–२ः मधेस प्रदेशको महोत्तरी–१, बागमती प्रदेशका सिन्धुपाल्चोक ,रामेछाप–१ र रसुवा–१ गण्डकी प्रदेशका गोर्खा–२, मनाङ–१, मुस्ताङ–१, म्याग्दी–१ र बागलुङ–१स लुम्बिनी प्रदेशका पाल्पा–१, पाल्पा–२, गुल्मी–१, गुल्मी–२, प्युठान–१, रोल्पा–१, दाङ–१ र दाङ–२, कर्णाली प्रदेशको दैलेख–२, सुदूरपश्चिम प्रदेशका दार्चुला–१, बझाङ–१, बैतडी–१, डडेलधुरा–१ र अछाम–१ मा पार्टीले योग्य उम्मेदवारको खोजी गरिरहेको छ।
पार्टीले देशलाई नयाँ दिशा दिन सक्ने, निष्कलङ्क र विकासप्रेमी उम्मेदवारलाई उम्मेदवारीका लागि आह्वान गरेको छ। संगठन विस्तार भएका क्षेत्रमा छनोट प्रक्रिया सहज भए पनि दुर्गम वा रणनीतिक क्षेत्रहरूमा विशेष मिहिनेत भइरहेको लामाले जानकारी दिए। उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनमा राष्ट्रिय स्तरमा आफ्नो पहिचान बलियो बनाउन र जनतामा विश्वास कायम राख्ने लक्ष्य राखेको छ।




