राजनीति

सत्ताका लागि जे पनि गर्न तयार गगन र विश्व, पार्टी नफुटाउने खाएका थिए कसम

काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक विवाद अन्ततः पुस ३० गते पार्टी विभाजनको चरणमा पुग्यो । सार्वजनिक रूपमा पार्टी एकता जोगाउने प्रतिबद्धता जनाउँदै आएका गगन थापा र विश्वप्रकाश शर्मा नै अन्तिम घडीमा समानान्तर संरचना घोषणा गर्ने बाटोमा उत्रिएपछि कांग्रेसको संकट औपचारिक विभाजनमा परिणत भएको संस्थापन पक्षको निष्कर्ष छ। बुधबार पार्टीको हितपरित गतिविधि गरेपछि कांग्रेस केन्द्रिय कार्य समितिले उनीहरुलाई कारबाही गरिसकेको छ ।

भदौ २३–२४ मा देखिएको ‘जेन–जी असन्तुष्टि’पछि कांग्रेसभित्र नेतृत्व परिवर्तनको दबाब तीव्र बन्दै गयो। असोज ६ गते विशेष महाधिवेशनको मागसहित सुरु गरिएको हस्ताक्षर अभियानले पार्टीभित्र शक्ति संघर्षलाई सतहमा ल्यायो। सभापति शेरबहादुर देउवाले असोज २८ गते उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिए पनि यसले विवादलाई थाम्न सकेन। विद्रोह समुहबाट सभापति बनेका गगन थापा र विश्वप्रकाश शर्माले अन्नत सभापति देउवालाई सभापतिबाट सडकमा झार्ने रणनीति बनाएपछि विवाद चर्किदै गएको थियो । उनीहरुले बारम्बार कांग्रेस संस्थापनपक्षमाथि र सभापतिमाथि आक्रमण शैली अपनाएका थिए । कांग्रेस संस्थापन पक्षले गगन र विश्वलाई भेला जम्मा नगर्न निर्देशन समेत विज्ञप्ती जारी गर्दै दिइसकेको थियो । तर कांग्रेसमा म भन्दा ठूलो कोही छैन् भन्ने प्रवृति उनीहरुमाथि हटेन,सोही कारण  महाधिवेशन प्रतिनिधिहरु ,गगन र विश्वका समर्थकहरु जेनजी युवाहरुलाई जम्मा गरेर विद्रोहमा उर्तिएका थिए ।

असोज २९ गते गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर सानेपास्थित केन्द्रीय कार्यालयमा दर्ता भएपछि विशेष महाधिवेशनको माग गरे। त्यसपछि झण्डै ५० दिनसम्म चलेको केन्द्रीय कार्यसमिति बैठकले विशेष महाधिवेशनको साटो नियमित महाधिवेशन गर्ने निर्णय गर्दै कार्यतालिका सार्वजनिक गर्‍यो।

तर पुस २६–२८ का लागि तोकिएको नियमित महाधिवेशन सम्भव नदेखिएपछि गगन र विश्वले पुस १७ गते संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगित भएको र अब विशेष महाधिवेशन अपरिहार्य भएको घोषणा गरे। लगत्तै केन्द्रीय कार्यसम्पादन समितिले वैशाख २८–३१ मा नियमित महाधिवेशन गर्ने नयाँ कार्यतालिका बहुमतबाट पारित गर्‍यो। निर्वाचनपछि नियमित महाधिवेशनमा जान र हाल निर्वाचनको माहोल बनाउन पार्टीले निर्देशन दिदै आएका थियो । त्यो पनि गगन समुहले अर्था विशेष महाधिवेशनपक्षले सुनेन् ।

सिङ्गो पार्टीको निर्णयलाई अस्वीकार गर्दै थापा र शर्माले नोट अफ डिसेन्ट लेखे र पुस २७ देखि भृकुटीमण्डपमा विशेष महाधिवेशन आयोजना गर्ने तयारी अघि बढाए। पार्टीको आधिकारिक निर्देशनलाई बेवास्ता गर्दै ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि भृकुटीमण्डप पुगेपछि विवाद निर्णायक मोडमा प्रवेश गर्‍यो।

पार्टी विभाजन रोक्न अन्तिम प्रयासहरू पनि भए। कार्यवाहक सभापति खड्का, नेता रमेश लेखक र महामन्त्रीद्वयबीच संवाद चल्यो। राष्ट्रपति रामचन्द्र पौडेलले समेत शीतल निवासमा दुवै पक्षलाई बोलाएर पार्टी नफुटाउन आग्रह गरे। तर सत्ता र नेतृत्व हस्तान्तरणको प्रश्नमा अडान नछाड्दा ती सबै प्रयास निष्फल भए। कांग्रेस संस्थापन पक्ष पार्टीलाई फुटबाट जोगाउने प्रयासमा थिए । गगन र विश्वलाई विशेष महाधिवेशन नभएर नीति महाधिवेशन गरेर,कांग्रेसभित्रको छलफलको रुपमा परिणत गर्न कांग्रेस केन्द्रिय सदस्य डा.सुनिल शर्मा र डा.चन्द्र भण्डारीले बारम्बार सुझाव दिए । तर गगन र विश्वले उनीहरुको सुझावलाई नमान्दै पार्टी विभाजनमा लागेपछि शर्मा र भण्डारी ब्याक भए।

यसैबीच विशेष महाधिवेशन पक्षले केन्द्रीय कार्यसमिति भंग भएको घोषणा गर्दै नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढायो। त्यसपछि सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टी विधान विपरीत गतिविधिमा संलग्न भएको ठहर गर्दै गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गर्‍यो।

उही रात भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति घोषणा गर्‍यो। अवैधानिक मानिएको विशेष महाधिवेशनबाट सभापतिमा गगन बनेपछि यससँगै नेपाली कांग्रेसभित्र औपचारिक रूपमा दुई अलग–अलग संरचना देखापरेका छन्।

हाल केन्द्रीय समिति, पदाधिकारी, प्रदेश र जिल्ला नेतृत्वको स्पष्ट बहुमत सभापति शेरबहादुर देउवा पक्षमा रहेको दाबी गरिएको छ। केन्द्रीय समितिका करिब ७० प्रतिशत सदस्य, १४ मध्ये ११ पदाधिकारी र अधिकांश भ्रातृ संस्थाहरू देउवा पक्षमै छन्। अर्कोतर्फ विशेष महाधिवेशन पक्षले बहुमत महाधिवेशन प्रतिनिधि आफ्नो पक्षमा रहेको दाबी गरिरहेको छ।

पार्टी नफुटाउने कसम खाएका नेताहरूबाटै विभाजनको अवस्था सिर्जना भएपछि अब कांग्रेसको आधिकारिकता, वैधानिकता र नेतृत्वको टुंगो निर्वाचन आयोग हुँदै अदालतसम्म पुग्ने सम्भावना देखिएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *