काठमाडौं । नेपाली कांग्रेसको आन्तरिक राजनीतिमा हालै देखा परेका खलबलीका कारण केन्द्रीय कार्यसमितिले महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरीमाथि कठोर कारबाही गर्ने निर्णय गरेको छ। पार्टीका नेताहरुले उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय लिएर गरेको हो ।
सानेपामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले तीनै नेताले पार्टी निर्णयविपरीत विशेष महाधिवेशनको आव्हान गरेको र अनुशासन उल्लङ्घन गरेको ठहर गर्दै यो कदम चालिएको हो। विशेष महाधिवेशनको नाममा उनीहरूले पार्टीको विधान र प्रक्रियालाई छलेर आफू अनुकूल शक्ति प्रदर्शन गर्ने प्रयास गरेका ठहर गरिएको छ।
विशेष महाधिवेशनको बहाना लिएर अघि बढेको समूहले केवल पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्वमाथि आक्रमण मात्र होइन, पार्टीको संस्थागत संस्कार र नैतिक आधारमाथि पनि प्रत्यक्ष प्रहार गरेको विश्लेषकहरूको तर्क छ। सभापति देउवाले संवाद र सहमतिको मार्ग अपनाउँदै आएका थिए । अवसरवादी नेताहरूले कांग्रेस संस्थापन पक्षलाई कम्जोर मानेर बारम्बार दबाब दिन थालेपछि पार्टीले कारबाही गरेको हो ।
महामन्त्री थापा र शमौले पार्टीभित्र भावनात्मक नारामा आधारित ‘जेन–जी आन्दोलन’ र ‘परिवर्तनको आवश्यकता’ भन्ने बहाना लिएर अघि बढ्ने प्रवृत्ति लोकतान्त्रिक अभ्यास होइन, शक्ति कब्जाका लागि योजनाबद्ध राजनीतिक अवसरवाद हो। थापा, शर्मा र मन्सुरीले पर्दापछाडिबाट पार्टी विभाजनको आधार तयार गर्दै कांग्रेसको नेतृत्व कमजोर बनाउने खेल खेलिरहेका थिए । कांग्रेस संस्थापनपक्षले बारम्बार सहमतिमा उनीहरुलाई आग्रह गर्दै आएको थियो ।
स्रोतका अनुसार, विशेष महाधिवेशन पक्षधरले केवल सार्वजनिक रूपमा ‘पार्टी फुट्न दिन्नौँ’ भन्ने भावुक अभिव्यक्ति दिएका थिए , तर व्यवहारमा पार्टी फुटाउने रणनीति अघि बढाए । यसले कार्यकर्ता र नागरिक समाजमा भ्रम र असन्तोष बढायो ।
केन्द्रीय कार्यसमितिको निर्णयअनुसार, पार्टीले विशेष महाधिवेशनमा संलग्न अन्य नेताहरुलाई संवादको माध्यमबाट समावेश गर्न आग्रह गर्नेछ। यस कदमले स्पष्ट सन्देश दिएको छ—व्यक्तिगत महत्वाकांक्षा र अवसरवादको आधारमा पार्टी फुटाउन सकिन्न।
सुधारको माग स्वाभाविक हुन सक्छ, तर नेतृत्वमाथि व्यक्तिगत हमला गरेर सत्ता कब्जा गर्ने प्रयास स्वीकार्य छैन। कांग्रेसलाई अहिले चाहिएको देउवालाई कमजोर बनाउने खेल होइन, संस्थालाई बलियो बनाउने साझा प्रतिबद्धता रहेको कांग्रेसले जनाएको छ ।




