देश

चरम अवसरवाद प्रयोग गरेर पार्टी फुटाउन लागेपछि दुई महामन्त्री थापा र शर्मालाई कारबाही गर्ने संस्थापनको तयारी

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको नाममा सत्ता र नियन्त्रण कब्जा गर्ने प्रयास भएको निष्कर्ष निकाल्दै संस्थापन समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरूमाथि कडा कारबाहीको तयारी थालेको छ ।

संस्थापन पक्षका अनुसार पार्टी विधान, केन्द्रीय कार्यसमितिको निर्णय र संस्थागत प्रक्रियालाई बेवास्ता गर्दै विशेष महाधिवेशन पक्षधरहरूले निर्वाचन प्रक्रिया नै अगाडि बढाएपछि अब कारबाहीबाहेक अर्को विकल्प नरहेको निष्कर्षमा संस्थापन पुगेको हो ।

विशेष महाधिवेशन पक्षधर समूहले मनोनयन प्रक्रिया अगाडि बढाउँदै अन्तिम नामावली सार्वजनिक गर्ने तयारी गरेपछि पार्टीलाई औपचारिक रूपमा विभाजनतर्फ धकेल्ने प्रयास भएको संस्थापनको ठहर छ । ‘यो सुधारको नाममा गरिएको अभ्यास होइन, चरम अवसरवाद हो,’ संस्थापन पक्षका एक नेताले भने, ‘पार्टी फुटाउने बाटो खुलेआम रोजेपछि अनुशासनको कारबाही अपरिहार्य हुन्छ।’ गगन थापाले सभापतिमा उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचन समितिले अन्तिम उम्मेदवार सूची सार्वजनिक गरेलगत्तै सम्बन्धित नेताहरूमाथि कारबाहीको पत्र पठाउने तयारी गरिएको संस्थापन पक्षले जनाएको छ ।

संस्थापन समूहका नेताहरूका अनुसार यो कदम व्यक्तिगत प्रतिसोध नभई पार्टीको अस्तित्व जोगाउन चालिन लागेको अन्तिम उपाय हो । ‘संस्थागत निर्णय नमानेर समानान्तर संरचना खडा गर्ने छुट कसैलाई छैन,’ ती नेताले भने । विशेष महाधिवेशनको विषयलाई लिएर कांग्रेसभित्रको ध्रुवीकरण झनै चर्किँदै गएको छ । एकातिर सुधार र परिवर्तनको नारा दिइएको छ भने अर्कोतिर त्यसकै आडमा पार्टीको मूल संरचना भत्काउने प्रयास भइरहेको आरोप संस्थापन पक्षको छ । संस्थापन समूहले पार्टी अनुशासन उल्लङ्घन गर्ने जो–कोहीमाथि पद, हैसियत नहेरी कारबाही गर्ने संकेत दिएको छ । यससँगै कांग्रेसभित्रको विवाद निर्णायक मोडतर्फ प्रवेश गरेको राजनीतिक वृत्तमा चर्चा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *