काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगनकुमार थापा तथा विश्वप्रकाश शर्माबीच भएको छलफल निष्कर्षविहीन बनेको छ ।
निर्णायक छलफलका लागि देउवा निवासमा पुगेका महामन्त्रीद्वय छलफलपछि बाहिरिएका हुन् । दुवै पक्षले आफ्ना अडान कायम राखेपछि वार्ता सहमतिमा पुग्न नसकेको बताइएको छ ।
विशेष महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने प्रक्रिया अघि बढिरहेका बेला विवाद समाधानका लागि सभापति देउवा र महामन्त्रीद्वयबीच भेटवार्ता भएको थियो । तर छलफलमा कुनै ठोस सहमति हुन सकेन ।
वार्ताका क्रममा महामन्त्रीद्वयले सभापति देउवालाई सक्रिय राजनीतिबाट बिदा लिन आग्रह गरेका थिए । तर सभापति देउवाले यस विषयमा कुनै प्रतिक्रिया नजनाएको स्रोतले जनाएको छ ।
काँग्रेस नेता रमेश लेखकले सभापति देउवाले टिकट बाड्ने पत्रमा हस्ताक्षर गर्नबाट पछि हट्न लचक भएको बताएका छन् । तर यस अघि राष्ट्रिय सभाको टिकट दिदा र प्रतिनिधिसभाको समानुपातिक सूचीमा देउवाकै हस्ताक्षर भएकाले अब प्रतिनिधिसभाको टिकट वितरणमा गर्ने हस्ताक्षरले मात्र के अर्थ राख्छ भन्दै महामन्त्रीद्वय सहमत नभएको बुझिएको छ । करिब एक घण्टाको छलफलबाट निष्कर्ष ननिस्किएपछि महामन्त्रीद्वय देउवा निवासबाट बाहिरिएका छन् ।
यसअघि मंगलबार भएका वार्ता र छलफलमा अन्य विषयमा संस्थापन पक्ष लचक भएपनि सभापति देउवाले नेतृत्व छोड्नु पर्न विषयमा सहमत नभएपछि कुरा मिलेको थिएन ।




