काठमाडौं । पार्टीभित्र चर्किँदो असन्तोष, जेनजी आन्दोलनले उजागर गरेको नेतृत्व संकट र संगठनात्मक अन्योलकै बीच नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्ने योजनाबद्ध प्रयास सुरु भएको आरोप तीव्र बनेको छ । यसका केन्द्रमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा देखिएका छन् ।
विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउने निर्णयलाई लिएर पार्टी संस्थापन पक्ष, सभापति शेरबहादुर देउवा, कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा वरिष्ठ नेता डा। शेखर कोइरालासमेतले सार्वजनिक रूपमै असहमति जनाइसकेका छन् । उनीहरूले मिडियामार्फत दिएका अभिव्यक्तिमा यो कदम पार्टी एकतालाई कमजोर बनाउने, विधानको मर्मविपरीत जाने र निश्चित समूहको स्वार्थ पूरा गर्ने उद्देश्यले चालिएको भन्दै कडा आलोचना गरेका छन् ।
संस्थापन पक्षले भनेका छन्– विशेष महाधिवेशनको निर्णय प्रक्रिया नै अपारदर्शी र पूर्वनियोजित छ । केन्द्रीय समिति र पार्टीका जिम्मेवार निकायमा पर्याप्त छलफल नगरी सीमित व्यक्तिहरूको घेराभित्र बसेर निर्णय गरिएको भन्दै यसलाई ‘पार्टी हाइज्याक’ को अभ्यासका रूपमा चित्रित गरिएको छ ।
सभापति देउवा निकट नेताहरूले मिडियामा दिएको प्रतिक्रियामा जेनजी आन्दोलनपछि पार्टीले आत्मसमीक्षा गर्नुपर्ने बेला सत्ता र पदको अंकगणितमा केन्द्रित हुनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । कार्यवाहक सभापति खड्काले समेत पार्टीलाई थप विभाजनतर्फ धकेल्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने संकेत सार्वजनिक रूपमा दिएका छन् ।
वरिष्ठ नेता शेखर कोइरालाले पनि विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै विधान, परम्परा र सहमतिबिनाको निर्णयले पार्टीलाई गम्भीर संकटमा पुर्याउने चेतावनी मिडियामार्फत दिएका छन् ।
विशेष महाधिवेशन पक्षधरहरूले अघि सारेको निर्णय प्रक्रियालाई लिएर पार्टीभित्र असन्तुष्टि झन् गहिरिँदै गएको छ । उनीहरूबीच भएको आन्तरिक छलफल, सीमित परामर्श र हतारो निर्णयले पार्टीलाई एकताबद्ध गर्नेभन्दा विभाजनको दिशामा लैजाने खतरा बढाएको नेताहरूको भनाइ छ ।
पार्टीभित्रैबाट उठिरहेको आवाजले स्पष्ट संकेत गरिरहेको छ—जेनजी आन्दोलनले देखाएको असन्तोषलाई सम्बोधन गर्ने साटो विशेष महाधिवेशनको आडमा शक्ति सन्तुलन उल्ट्याउने प्रयासले नेपाली कांग्रेसलाई अझ गहिरो संकटतर्फ धकेल्न सक्छ ।




