राजनीति

मिखाइल गोर्भाचोभकाे बाटोमा लागेकै हुन् गगन थापा ?

काठमाडौं । नेपाली कांग्रेस आज इतिहासकै सबैभन्दा संवेदनशील मोडमा उभिएको छ। पार्टी सुधार र परिवर्तनको नारासहित अघि सारिएको विशेष महाधिवेशन अब एकताको माध्यम होइन, विभाजनको औजार बन्दै गएको आरोप तीव्र बन्दै गएको छ। यही प्रक्रियाको केन्द्रमा छन्—महामन्त्री गगन थापा। कांग्रेसभित्र यतिबेला गम्भीर प्रश्न उठ्न थालेको छः के गगन थापा पार्टीभित्र मिखाइल गोर्बाचोभको भूमिकामा देखिँदैछन् ?

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा अघि बढाइएको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयनतर्फ जाने संकेत गरेसँगै कांग्रेस दुई धारमा चिरिने जोखिम उच्च भएको छ। पार्टी सभापति शेरबहादुर देउवा पक्षधर र विशेष महाधिवेशन पक्षधरबीच बालुवाटारमा संवाद जारी छ । तर विशेष महाधिवेशनपक्षधर पार्टी विभाजन गरेर गगनलाई सभापति बनाउने भन्दै पार्टी कम्जोर बनाउने लाइनमा देखिन्छन् ।

सोमबार र मंगलबारको वार्तामा ठोस सहमति नजुट्नुले देखाएको छ—संवादभन्दा अडान बलियो छ। विशेष महाधिवेशनले समानान्तर नेतृत्वको बाटो खोल्ने प्रयास गरिरहेको ठानिँदा, कांग्रेसभित्र असन्तोष मात्र होइन, अविश्वास पनि गहिरिँदै गएको छ। पार्टीभित्रको विभाजन रोक्न पार्टी सभापति देउवा,का.वा सभापति पूर्णबहादुर खड्का,कोइराला परिवार लागि परेका छन् ।यहीबीच, पार्टीको भ्रातृ संगठन नेपाल तरुण दलले सानेपामा दबाब अभियान चलाउँदै पार्टी एकताको माग उठाएको छ। तरुण दलका नेता–कार्यकर्ताहरूले पार्टीलाई विभाजनतर्फ होइन, संस्थागत एकताको दिशामा लैजानुपर्नेमा जोड दिएका छन्।

राजनीतिक विश्लेषकहरू गगन थापाको भूमिकालाई सोभियत संघका अन्तिम नेता मिखाइल गोर्बाचोभ सँग तुलना गर्न थालेका छन्। गोर्बाचोभले सुधार (पेरेस्त्रोइका) र खुलापन (ग्लास्नोस्त) को नाममा राज्यको नियन्त्रण कमजोर पारे, जसको परिणामस्वरूप आर्थिक अराजकता, राष्ट्रवादी विद्रोह र अन्ततः सोभियत संघको विघटन भयो। आज कांग्रेसभित्र पनि सुधारको नाममा विधान मिच्ने, केन्द्रिय सम्पादन समिति खारेज गर्ने र समानान्तर नेतृत्व खडा गर्ने अभ्यास देखिँदा, इतिहास दोहोरिने खतरा देखिएको टिप्पणी बढ्दै गएको छ।

तरुण दलले पार्टी कार्यालय कब्जा हुन नदिने चेतावनी दिनु, शीर्ष नेताहरू वार्तामा धाइरहनु र विशेष महाधिवेशन पक्षधरहरू निर्वाचनको तयारीमा जुट्नु—यी सबै संकेत हुन् कि कांग्रेस सामान्य विवादमा होइन, संस्थागत संकट मा फसेको छ। सुधार आवश्यक छ, तर नियन्त्रणविहीन सुधार विनाशतर्फको बाटो हुन्छ भन्ने इतिहासले प्रमाणित गरिसकेको छ। गोर्बाचोभले सुधार पूरा गर्न नपाउँदै राज्य गुमाए। आज गगन थापाले अघि सारेको बाटोले कांग्रेसलाई बलियो बनाउने कि कमजोर पार्ने—यसको उत्तर उनीहरूको आगामी कदमले दिनेछ।

अब कांग्रेस सामु प्रश्न स्पष्ट छः इतिहासबाट पाठ सिक्ने कि इतिहासकै गल्ती दोहोर्‍याउने ? यदि समयमै आत्मसंयम, संवाद र विधानको सम्मान भएन भने, कांग्रेसको ‘गोर्बाचोभ क्षण’ धेरै टाढा नहुन सक्छ।

यदि विशेष महाधिवेशनपक्षधरले संस्थापनपक्षसँग सहमति नजुटाई निरङकुस्ताशैलीमा अघि बढे भोली देशमा कांग्रेस –कांग्रेसबिचको द्वन्द्धमात्रै बढ्दैन ,आगामी निर्वाचनमा असर,अदालतीय प्रक्रिया र निर्वाचन आयोगमा समेत पुगेर महाधिवेशनको वैधानिकताबारे प्रश्न चिह्न खडा हुन्छ । अनि देशमा कांग्रेसलाई मात्र असर पर्दैन् देश नै दुर्घटनामा पर्ने खतरा बढ्छ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर विवाद बढ्दै गएको छ। पार्टीको संस्थापन पक्षले महामन्त्रीद्वयद्वारा आह्वान गरिएको विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्दै त्यसको वैधता माथि प्रश्न उठाएको छ।

यसैबीच, कार्यवाहक सभापति पूर्णबहादुर खड्काले महाधिवेशन पक्षधर नेताहरूलाई पार्टी एकताको पक्षमा उभिन आह्वान गरिसकेका  छन्। सभापति शेरबहादुर देउवा निवासमा बसेको संस्थापन पक्षको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा देउवाले खड्कालाई यही जिम्मेवारी दिन निर्देशन दिएका थिए।

यसैबीच सभापति देउवाले आफूनिकट केन्द्रीय सदस्यहरूसँग पनि विशेष महाधिवेशन र आगामी रणनीति विषयक छलफल गरिरहेका छन्। पार्टीको एकता र वैधानिकता सुनिश्चित गर्न संस्थापन पक्ष सक्रिय देखिएको छ। वार्तामा विशेष महाधिवेशन पक्षधरबाट केन्द्रीय सदस्य प्रदीप पौडेल र मधु आचार्य, साथै नेताहरू गुरुराज घिमिरे र देवराज चालिसे सहभागी छन्। यता सभापति देउवा तथा शेखर कोइराला समूहको तर्फबाट बालकृष्ण खाणरमेश लेखक, सहमहामन्त्री जीवन परियार र नेता डा. मिनेन्द्र रिजाल वार्तामा सामेल छन्। विशेष महाधिवेशन पक्षधर पनि केही मात्रमा पार्टी विभाजन गरेर नेतृत्व चयन गर्न नहुने निष्कर्षमा पुग्दैछन्, तर ठोस निष्कर्ष निकाल्ने प्रयास जारी छ ।

नेपाली कांग्रेसभित्र जारी विशेष महाधिवेशनको दिशा र उद्देश्यलाई लिएर बहस चर्किँदै जाँदा  डा.  चन्द्र भण्डारी र डा. सुनिल शर्माले यस महाधिवेशनलाई नेतृत्व चयनको थलो होइन, पार्टी एकता सुदृढ गर्ने मञ्च का रूपमा रूपान्तरण गर्नुपर्ने निष्कर्ष निकालेका छन्। विशेष महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भइसकेका यी दुई नेताले नेतृत्व चयन प्रक्रियाबाट आफूहरू अलग रहने घोषणा गर्दै नियमित महाधिवेशन भने विधानअनुसार निर्वाचनपछि मात्रै गर्नुपर्ने अडान सार्वजनिक गरेका हुन्। उनीहरुले पार्टी विभाजनको दिशाबाट रोक्न यस्तो प्रस्ताव अघि बढाएका हुन् ।

यस्तै नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एकता जोगाउनका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा थप लचक हुनुपर्ने बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै डा. महतले एकता कायम राख्न संस्थापन पक्ष अत्यधिक लचिलो भइसकेको दाबी गरे । उनले पार्टीलाई एकताबद्ध राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै महामन्त्रीद्वयबाट पनि सकारात्मक पहल अपेक्षित रहेको बताए ।

राणाशासनदेखि राजतन्त्र अन्त्यसम्मको नेतृत्व गरेको नेपाली कांग्रेस नेपालको राजनीतिक र सामाजिक परिवर्तनको पर्यायजस्तै छ। ७० वर्ष लामो संघर्षको इतिहास बोकेको कांग्रेसलाई अलग राख्ने हो भने नेपालको राजनीतिक र सामाजिक परिवर्तनको अध्ययन र बुझाइ अपुरो हुन्छ।

महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन आयोजना गरेर आफूहरूले विद्रोह गरेको बताएका छन् । भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रको समापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको आन्तरिक लोकतन्त्रमा प्रश्न गर्नु आफैँमा एउटा विद्रोह भएको जिकिर गरे ।

उनले भने, ुयो विद्रोह हो । प्रश्न गर्नु आफैँमा एउटा विद्रोह हो । मौनता साँध्नु भनेको मृत्युलाई अंगाल्नु जस्तै हो । उनले हलभित्र रहेका प्रतिनिधिहरूलाई आफ्नो र अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको प्रतिवेदन ताली बजाएर बहुमतका साथ पास गरिदिनसमेत आग्रह गरे । सोअनुसार बहुमतका साथ प्रतिवेदन पारित भएको छ । योसँगै बन्दसत्र पनि सकिएको छ । उनले जसरी भए पनि आफू अघि बढ्ने बताएका छन् । विशेष महाधिवेशन हलबाट नेतृत्व चयन गरेर आफ्नो बाटोमा लाग्ने संकेत गरेका छन् । उनले कांग्रेस संस्थापनले अवैधानिक भएको विशेष महाधिवेशन नभएको भन्दै अब आफू नरोकिने बताए । अब नयाँ नेतृत्व चयन गरे अघि बढे कांग्रेस बिभाजन हुने निश्चित छ । कांग्रेस केन्द्रिय समिति बैठकमा समेत नपुगेका थापाले अब आफु पछि नहटुने बारम्बार दो¥याए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *