देश

कांग्रेस एकताका लागि महामन्त्रीद्वय थप लचक हुनुपर्छ : प्रवक्ता डा. महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टी एकता जोगाउनका लागि महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा थप लचक हुनुपर्ने बताएका छन् ।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै डा. महतले एकता कायम राख्न संस्थापन पक्ष अत्यधिक लचिलो भइसकेको दाबी गरे । उनले पार्टीलाई एकताबद्ध राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने उल्लेख गर्दै महामन्त्रीद्वयबाट पनि सकारात्मक पहल अपेक्षित रहेको बताए ।

डा. महतले संस्थापन समूहका कारण पार्टी विभाजन नहुने स्पष्ट पार्दै कांग्रेसको विभाजन पार्टी र नेपाली जनताको हितमा नरहेको बताए । “विभाजन हितमा छैन भन्ने कुरा हामीलाई राम्रोसँग थाहा छ । त्यसैले अत्यधिक लचकताका साथ संवादमार्फत सबै साथीहरूलाई एकजुट बनाउने प्रयास गरिरहेका छौं,” उनले भने ।

आगामी आम निर्वाचनलाई मध्यनजर गर्दै पार्टी एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउँदै डा. महतले देश र जनताको हितलाई केन्द्रमा राखेर महामन्त्रीद्वय थापा र शर्माले थप लचकता देखाउनुपर्ने बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *