देश

आयुर्वेद चिकित्सक संघ नेतृत्वविहीन , श्यामबाबुको कुर्सी मोहले दुई वर्षदेखि संस्था बन्धक

काठमाडौं । देशभरका करिब एक हजार आयुर्वेद चिकित्सकको छाता संगठन भनिने आयुर्वेद चिकित्सक संघ पछिल्ला दुई वर्षदेखि नेतृत्वको स्वेच्छाचारिताले थला परेको छ। पेशागत हकहित र आयुर्वेद चिकित्सा पद्धतिको विकासका लागि स्थापित संघ आज अध्यक्ष डा. श्यामबाबु यादवको कुर्सी मोहको बन्दी बनेको आरोप चिकित्सकहरू स्वयंले लगाउन थालेका छन्।

२०७८ चैतमा दुई वर्षे कार्यकालका लागि डा। श्यामबाबुको नेतृत्वमा कार्यसमिति चयन गरिएको थियो। विधानअनुसार समयमै महाधिवेशन गरेर नयाँ नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा उनले चार वर्षसम्म पद नछोडी संघलाई व्यक्तिगत नियन्त्रणमा राखेका छन्। दुई वर्षअघि नै सकिनुपर्ने कार्यकाल अझै लम्ब्याइँदा पनि महाधिवेशनप्रति उनको कुनै इच्छाशक्ति नदेखिएको चिकित्सकहरूको गुनासो छ।

व्यापक दबाबपछि आगामी २०८२ चैत २० र २१ गते का लागि ११औं महाधिवेशनको मिति तोकिए पनि सो मितिमा समेत अधिवेशन हुनेमा संघका सदस्यहरू विश्वस्त छैनन्। चिकित्सकहरूका अनुसार अध्यक्ष यादव स्वयं महाधिवेशन टार्ने रणनीतिमा लागिरहेका छन्, ताकि पद र पहुँच आफ्नो नियन्त्रणमै रहोस्।

संघभित्र अध्यक्ष यादवले संस्थालाई व्यक्तिगत लाभको साधन बनाएको आरोप गम्भीर रूपमा उठिरहेको छ। संघलाई निजी कम्पनीझैं चलाउँदै लेटरप्याड, छाप र निर्णय प्रक्रियासमेत आफूखुसी प्रयोग गर्ने गरेको आरोप छ। टिमवर्कमा काम नगर्ने, सहकर्मीलाई बेवास्ता गर्ने र आलोचनालाई दमन गर्ने शैलीले संघप्रति आम आयुर्वेद चिकित्सकमा वितृष्णा पैदा भएको छ।

तुलनात्मक रूपमा हेर्दा नेपाल चिकित्सक संघका अध्यक्ष डा। अनिलविक्रम कार्की नियमित अधिवेशन, मिति घोषणा र नेतृत्व हस्तान्तरणमा प्रतिबद्ध देखिन्छन्। तर सोही प्रकृतिको पेशागत संगठन आयुर्वेद चिकित्सक संघ भने अध्यक्षको व्यक्तिगत स्वार्थका कारण अस्तव्यस्त बनेको अनुभूति चिकित्सकहरूले गर्दै आएका छन्।

संघलाई “मागीखाने भाँडो” बनाइएको आरोपले वातावरण झनै तातिएको छ। आयुर्वेद चिकित्सा पद्धतिको प्रवर्द्धन र चिकित्सकको हकहितका लागि बनेको संस्था आज केही व्यक्तिको पहुँच, लाभ र सौदाबाजीको अखडा बनेको आरोप छ।

संघ मात्र होइन, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागसमेत विवादको घेरामा छ। दशौं तहका डा. श्यामबाबु वर्षौंदेखि निमित्त महानिर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् भने ११औं तहका वरिष्ठ आयुर्वेद चिकित्सक डा. रामआधार यादव जिम्मेवारीविहीन अवस्थामा अतिरिक्त समूहमा थन्किएका छन्। कनिष्ठलाई विभाग सुम्पेर वरिष्ठलाई बरन्डामा राख्नु सुशासनको ठाडो उपहास भएको टिप्पणी स्वास्थ्य क्षेत्रमा व्यापक छ।

मन्त्रीदेखि सचिवसम्म दबाब व्यवस्थापन गर्न सिपालु मानिएका श्यामबाबुलाई स्वास्थ्य मन्त्री सुधा गौतम को संरक्षण प्राप्त भएको आरोप पनि उठेको छ। केही समयअघि भारत भ्रमणमा मन्त्रीले श्यामबाबुलाई साथ लिएर जानु र महानिर्देशक परिवर्तनसम्बन्धी टिप्पणी सचिवस्तरमै रोकिनु, मन्त्रालयभित्रको सेटिङ संस्कृतिको ज्वलन्त उदाहरण भएको आलोचना भइरहेको छ।

जेन–जी आन्दोलन सुशासनका लागि भएको भनिए पनि स्वास्थ्य मन्त्रालयभित्र भने पुरानै रोग—सेटिङ, पहुँच र भ्रष्टाचार—झनै बलियो हुँदै गएको गुनासो छ। वरिष्ठ चिकित्सकलाई पाखा लगाएर कनिष्ठलाई वर्षौंसम्म निमित्तको नाममा सत्तामा राख्नु आफैंमा संरचनागत भ्रष्टाचार भएको चिकित्सकहरूको ठहर छ।

अब प्रश्न स्पष्ट छ—आयुर्वेद चिकित्सक संघ पेशागत संस्था रहन्छ कि व्यक्तिको निजी स्वार्थको साधनमै सीमित हुन्छ रु समयमै महाधिवेशन, पारदर्शिता र नेतृत्व हस्तान्तरण नभए संघ मात्र होइन, आयुर्वेद चिकित्सा पद्धतिकै साख गम्भीर संकटमा पर्ने संकेत देखिन थालेको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *