देश

बालेन र गगनका ठूला कुरा, वर्षायाममा काठमाडौंँ सँधै डुबानमा

काठमाडौं । निर्वाचनअघि बाढीको समस्या समाधान गर्ने स्थानीयवासीलाई प्रतिवद्धता दिएर काठमाडौं क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा तेस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए। निर्वाचन परिणामले थापाको व्यक्तिगत राजनीतिक जित त पुष्टि गर्‍यो, तर उनको कार्यकालको उपलब्धि र जनताका दैनिकीका समस्यामाथि गम्भीर प्रश्न पनि उस्तै छाडिदिएको छ। थापाको भाषणशैली कडा र कार्यान्वयको शैली कम भएको पुष्टि हुँदै आएको सो क्षेत्रमा बसोवास गर्ने स्थानीयहरु बताउँछन् । उनीहरुका अनुसार महामन्त्री थापाले निर्वाचनअघि सो क्षेत्रमा देखिएका सबै समस्या समाधान गर्ने प्रतिबद्धता दिए तर वर्षाको समयमा राती बेडसम्म नै बाढी पुग्छ । वर्षाको समयमा सो सिजन कहिले सकिने हो भन्ने चिन्ता बारम्बार हुने गरेको उनीहरुको भनाइ छ ।

निर्वाचन आयोगको अन्तिम परिणामअनुसार थापाले २१ हजार २ सय ९४ मत प्राप्त गर्दै विजय हासिल गरे थिए । मतान्तर स्पष्ट छ, तर जनअपेक्षा र यथार्थबीचको दूरी अझै गहिरो देखिन्छ। तीन कार्यकालसम्म संघीय संसदमा पुग्दा पनि क्षेत्र नम्बर ४ का नागरिकले भोग्दै आएको सबैभन्दा जटिल समस्या—वर्षायाममा कपनको डुबान—जहाँको त्यहीँ छ। हरेक मनसुनसँगै कपनवासी डुबान, दुर्गन्ध, रोग र विस्थापनको त्रासमा बाँच्न बाध्य छन्। तर तिनै समस्यालाई समाधान गर्ने जिम्मेवारी पाएका जनप्रतिनिधि भने हरेक चुनावमा आश्वासन बाँडेर फेरि जित्दै आएका छन्।

गगन थापा राष्ट्रिय राजनीतिमा सशक्त वक्ता, सुधारवादी नेता र परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरिँदै आएका छन्। तर क्षेत्रीय विकासको हिसाबले हेर्दा, कपनको सडक, ढल, खोला व्यवस्थापन र पूर्वाधार आज पनि वर्षौंदेखि उही अवस्थामा छन्। जनताले प्रश्न गर्न थालेका छन्—के भाषण र सामाजिक सञ्जालमै सीमित विकास नै गगन थापाको राजनीति हो ? तेस्रोपटक जित्दा पनि क्षेत्रका बासिन्दाले बाढी आउँदा घर छोड्नुपर्ने, सवारी अवरुद्ध हुने र सामान्य जनजीवन अस्तव्यस्त हुने नियति बदलिएको छैन। स्थानीयहरू भन्छन्, “नेता जित्दै जान्छन्, तर समस्या हरेक वर्ष दोहोरिन्छ।” कपन मात्रै होइन्, काठमाडौ नै वर्षाको याममा वर्षेनी डुबानमा पर्छ। न त काठमाडौं महामनगरपालिकाका मेयर बालेनन शाहले काठमाडौंवासीको मन चित्न सके न गगनले । काठमाडौं महामनगरपालिकाले खोला खोलेपछि सो नदि आसपासमा बस्ने नागरिकले ठूलो सास्ती भोग्नु परेको छ ।

निर्वाचन जितलाई जनमतको समर्थनका रूपमा मात्र बुझ्नु पर्याप्त हुँदैन। यो जितसँगै आएको जिम्मेवारी अझ गम्भीर हुन्छ। अब प्रश्न केवल चुनाव जित्ने होइन, तीन कार्यकालसम्म नसुल्झिएको कपनको डुबान कहिले समाधान हुन्छ ? यदि यसपटक पनि कपनले हरेक वर्ष पानीसँगै पीडा बोकिरहने हो भने, गगन थापाको तेस्रो जित इतिहासमा उपलब्धिभन्दा आलोचनाको सूचीमा बढी सम्झिइने खतरा छ। जनताले अब भाषण होइन, नतिजा खोजिरहेका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *